चीन-भारत तनाव

भारतको रणनीति : चीनविरुद्ध गोर्खा सैनिक ?

छुट्टीमा नेपाल आएका गोर्खा सैनिकलाई फिर्ता बोलायो भारतले

एजेन्सी

मंगलबार, ०२ असार २०७७, २० : ०४
भारतको रणनीति : चीनविरुद्ध गोर्खा सैनिक ?

साङ्केतिक फोटो

एजेन्सी । लद्दाखको सीमा क्षेत्रमा आफ्ना तीन जना सैनिक चिनियाँ सेनाबाट मारिएपछि चीनसँगको सम्बन्धमा तनाव महसुस गरिरहेको भारतले चीनविरुद्ध गोर्खा सैनिक परिचालन गर्ने रणनीति लिएको हो कि भन्ने आशंका जन्मिएको छ ।

कोरोना महामारीको संघारमा छुट्टीमा नेपाल आएका गोर्खा सैनिकलाई चीनसँगको तनावबीच भारतले फिर्ता बोलाएपछि यस्तो आशंकालाई बल पुगेको हो । चीनसँग लद्दाखमा युद्वको स्थिति बनेपछि नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई भारतले फिर्ता बोलाएको हुनसक्ने अनुमान गरिएको छ । 

भारतको रक्षामन्त्री राजनाथ सिंहले चीनसँग युद्धको स्थिति बनेसँगै गोप्य बैठक बोलाएका छन् जसमा चीफ अफ डिफेन्स स्टाफ विपीन रावत र अन्‍य अधिकारीहरु सहभागी छन्। भारतीय विदेशमन्त्री एस जयशंकर समेत बैठकमा सहभागी छन् ।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्नुअघि भारतीय सेनामा कार्यरत गोर्खालीहरू छुट्टी मनाउन घर फर्किएका थिए। तर, चीनसँग उत्तरी सीमा विवाद चुलिएपछि भारतीय सेनाले छुट्टी मनाइरहेका गोर्खालीलाई काममा फर्कन आदेश दिएको हो ।

भारतीय सेनामा भर्ती भएका कम्तीमा १८ जना गोर्खा रेजिमेन्ट सैनिकहरु सोमबार रुपन्देहीको बेलहिया नाकाबाट भारत प्रवेश गरेका छन् । नेपाल–भारत बोर्डरमा उनीहरूको थर्मल स्क्यानिङ (ज्वरोमापन) भएको थियो ।

भारतीय सेनामा १ लाखको हाराहारीमा नेपाली कार्यरत छन्। गोर्खा रेजिमेन्टअन्तर्गत भारतीय सेनामा कार्यरत नेपालीहरू सन् १९४७ मा भारत स्वतन्त्र भएदेखि चीन र पाकिस्तानसँग जोडिएको नाकामा अत्याधिक मात्रामा कार्यरत छन्।

भारतमा नेपाली सेनाको उपस्थिति सन् १८१५ देखिको मानिन्छ, जब ब्रिटिश सत्तासँग नेपालको कुमाउँमा हार भएको थियो। सन् १९४७ मा ब्रिटिश शासकले भारतलाई सत्ता सुम्पिएर जाँदा गोर्खाली सेनाको चार रेजिमेन्ट आफूले र भारतलाई ६ रेजिमेन्ट छोडेर गएका थिए ।

प्रतिक्रिया दिनुहोस