एसइई स्थगितपछि विद्यार्थीहरुको प्रतिक्रिया : कोही चिन्तित, कोही खुसी !

हिरालाल आचार्य ‘डायमण्ड’

शनिबार, ३१ जेठ २०७७, १७ : ४२
एसइई स्थगितपछि विद्यार्थीहरुको प्रतिक्रिया : कोही चिन्तित, कोही खुसी !

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन । सरकारले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) स्थगित गर्ने निर्णय गरेपछि विद्यार्थीहरुले विभिन्न खाले प्रतिक्रिया दिएका छन् । 
अन्तिम परीक्षाको नतिजालाई मात्र आधार मानिने परीपाटीका कारण विद्यार्थीहरुले आन्तरिक परीक्षालाई त्यति महत्व नदिने गरेको पाइएको छ । त्यसैले आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा आउने भनेपछि धेरै विद्यार्थीहरुमा नतिजा कस्तो आउने हो ? भन्ने चिन्ता थपिएको छ । त्यस्तै यत्तिका समयसम्म परीक्षा होला भन्ने आशले पढिरहेका विद्यार्थीहरु एसइई स्थगित हुँदा निराश भएको पाइएको छ ।

मोदि गाउँपालिका ७ पर्वतमा रहेको श्री पशुपति माविमा अध्ययनरत सुशिल पौडेलले आन्तरिक परीक्षाको आधारमा आउने नतिजा स्वीकार्न नसकिने बताए । ‘एसइईको फाइनल परीक्षाको लागि भनेर धेरै तयारी गरेको थिएँ । आन्तरिक परीक्षामा त बिना तयारी परीक्षा दिएको हो’ उनले भने ‘कि पहिल्यैबाट आन्तरिक परीक्षाको महत्व विद्यार्थीलाई बुझाउनु पर्दथ्यो । अहिले आएर आन्तरिक परीक्षाको नतिजालाई अन्तिम बनाउनु विद्यार्थीहरुको भविष्यमाथिको खेलबाड हो ।’ 

पशुपति माविमै अध्ययनरत अर्का विद्यार्थी हिमाल शर्माले आन्तरिक मूल्याङ्कनका आधारमा नम्बर दिने व्यवस्था गर्दा आफू थप चिन्तित भएको बताए । ‘फाइनल परीक्षामा राम्रो गर्ने सबैको सोच हुन्छ । आन्तरिक परीक्षामा फेल भएकाहरुपनि फाइलनमा राम्रो नतिजा ल्याएर उत्तिर्ण भएका उदाहरण हरु छन् । त्यसैले सबैले सोचेको जस्तो नतिजा नआउन पनि सक्छ’ उनले भने ।

भरतपुर महानगरपालिका २७ चितवनमा रहेको ब्राइट फ्युचर इङ्ग्लिस सेकेण्डरी स्कुलमा अध्ययनरत दिपेन्द्र चापागाईंले एसइई दिने धोको अधुरै हुँदा नरमाइलो लागेको बताए । टेस्ट परीक्षामा बी प्लस आएको बताउने उनले एसइईमा ए ल्याउने लक्ष्यका साथ तयारी गरेको सुनाए । ‘बाहिरको स्कुलमा गएर टेस्ट परीक्षा दिँदा डर लागेकाले राम्रो गर्न सकेको थिइन् । एसइई परीक्षामा सायद त्यो डर पनि हराउँथ्यो होला र राम्रो लेख्न सक्थें होला’ उनले भने । 

भरतपुर– २५ मा रहेको सनलाइट इङ्ग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत सञ्जिप पौडेलले आन्तरिक परीक्षाको आधारमा एसइईको नतिजा आउने भए आफू सन्तुष्ट हुने बताए । यद्यपी एसइईको लागि भनेर आजसम्म धेरै मेहनतका साथ गरेको तयारी नतिजामा नआउने हुँदा दुःख लागेको बताए । उनले एसइई परीक्षा स्थगितभन्दा पनि केही समय अझै कुरेको भए राम्रो हुने तर्क गरे ।

भरतपुर– १२ मा रहेको प्रेरणा सेकेण्डरी इङ्ग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत सुजिता ढकालले पनि आन्तरिक परीक्षाको आधारमा आउने नतिजाप्रति आफू सन्तुष्ट हुने बताइन् । आन्तरिक परीक्षामा राम्रो गरेको बताउने उनले एसइई दिने धोको पुरा नहुँदा भने नरमाइलो लागेको बताइन् ।

भरतपुर– २६ मा रहेको युवा माविमा अध्ययनरत पवित्रा तिमिल्सिनाले ३ महिनापछि परीक्षा हुनुभन्दा न हुँदा नै खुसी लागेको बताइन् । ‘चैत ६ गतेदेखि नै दिन पाएको भए पहिलेभन्दा राम्रो गर्ने गरी तयारी गरेको थिएँ । लकडाउनका बेला त्यति पढिन । अहिले दिनुपरेको भए त आन्तरिक परीक्षाको भन्दा नि कम आउँथ्यो होला’ उनले भनिन् ।

युवा माविमै अध्ययनरत सरिका अर्यालले पनि एसइई स्थगित हुँदा खुसी लागेको बताइन् । ‘परीक्षै नदिई पास हुने भइयो । कोरोनाको बेला तनाव लिएर परीक्षा दिनुभन्दा आन्तरिक नतिजालाई नै मान्य दिए हुन्छ । मेरो त राम्रो भएको छ’ उनले भनिन् । 

भरतपुर– २० चितवनमा रहेको मिलन इङ्ग्लिस सेकेण्डरी स्कुलमा अध्ययनरत प्रशान्त आचार्यले एसइई स्थगित हुँदा चिन्ता लागेको बताए । आन्तरिक परीक्षामा उत्तीर्ण भएको बताउने उनले एसइईमा अझ राम्रो गर्ने गरी धेरै मेहनतकासाथ तयारी गरेकाले सो ज्ञान परीक्षामा लेख्न नपाउँदा दुःख लागेको बताए ।   

भरतपुर– २५ मा रहेको मोदरल्याण्ड इङ्ग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत शलिना महत्तोले आन्तरिक परीक्षाको आधारमा नतिजा निकाल्नेभन्दा आफू निकै चिन्तित भएको बताइन् । आन्तरिक परीक्षा बिग्रेको बताउने उनले एसइईको लागि आफूले राम्रो तयारी गरेको सुनाइन् । 

कुस्मा नगरपालिका ४ पर्वतमा रहेको नारायण माविमा अध्ययनरत समिक्षा पौडेलले एसइईको परीक्षाका लागि धेरै मेहनत गरेको बताइन् । ‘आन्तरिक परीक्षामा भन्दा फाइनलमा राम्रो गरी लेख्ने तयारीका साथ अहिलेसम्म पढिरहेको थिएँ । तर परीक्षा नै स्थगित भयो । अब नम्बर कति आउने हो भन्ने चिन्ता लागेको छ’ उनले भनिन् । 

भरतपुर- २५ मा रहेको प्रभात मावि शुक्रनगरमा अध्ययनरत सुमित पुरीका अभिभावक मुनादेवि पुरीले एसइई स्थगित भएपछि विद्यार्थीमात्र होइन् अभिभावकलाई पनि उत्तिकै चिन्ता परेको बताइन् । 

‘एसइई स्थगित हुँदा अलिअलि पढ्नेहरु त खुसी होलान् । तर मेहनत गरेर राम्रोसँग पढ्ने विद्यार्थी र खर्च गरेर होस्टेल राखेर पढाउने अभिभावक धेरै दुखी भएका छन्’ उनले भनिन्, ‘९ कक्षासम्मको चाँडै गर्ने सोच बनाउने सरकारले एसइईको परीक्षा पनि चाँडै गर्नुपर्दथ्यो ।’

भरतपुर- २६ मा रहेको आदर्श माविका प्रधानाध्यापक मित्रबन्धु चापागाईंले एसइई स्थगित गर्नु सरकारको बाध्यता भएकाले यसलाई सबैले स्वीकार गर्नुपर्ने बताए । विद्यार्थीले मासिक, त्रैमासिक एवम् वार्षिक परीक्षा समेतमा ल्याएको नतिजालाई आधार मानेर अंक जाने संभावना भएका कारण विद्यार्थीहरुलाई चिन्ता नलिन उनले आग्रह गरेका छन् । ‘दिनदिनै पढाउने शिक्षकले हरेक विद्यार्थीको क्षमतालाई बुझिसकेका हुन्छन्, त्यसैले नम्बर उनीहरुको क्षमताका आधारमा नै पठाइन्छ’ उनले भने ।  

‘नतिजाप्रति असन्तुष्ट भएर विद्यार्थीहरुले त्यो शिक्षकले त मलाई नतिजा थोरै हालिदिएछ भन्लान् । के भन्लान् । त्यसैले एसइई स्थगित हुँदा शिक्षकलाई पनि उत्तिकै तनाव भएको छ’ उनले भने । 

आन्तरिक परीक्षाको आधारमा नतिजा आउने भनिए पनि स्पष्ट कार्यविधि बन्न बाँकी छ । ‘कुनै विद्यालयले बढी नम्बर पठाउला कुनैले कम पठाउला । नतिजा आएपछि ए त्यो विद्यालयले त हचुवा नम्बर पठाएछ भन्ने हुन्छ’ उनले भने ‘त्यसैले स्पष्ट कार्यविधि बनेपछि उचित मूल्याङ्कन गरेर विद्यार्थीको नम्बर पठाइन्छ ।’

सरकारले चैत ६ गतेबाट हुने भनिएको परीक्षा कोरोना भाइरस (कोभिड– १९)को जोखिमलाई ध्यान दिँदै चैत ५ गते स्थगित भएको सुचना दिएको थियो । त्यसपछि परीक्षा अनिश्चित बनेपछि यही जेठ २८ गते बुधबार मन्त्रिपरिषद्को बैठकले यो वर्षको एसइई नगर्ने र आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने निर्णय गरेको छ । यसपटक देशभर चार लाख ८२ हजार विद्यार्थी एसइई दिने तयारीमा थिए । तर यी सबैले एसइई दिने धोको अधुरै हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस