जेरुसेलममा दूतावास स्थापना गर्ने अमेरिकाको निर्णयप्रति टर्कीको आक्रोश

एजेन्सी

सोमबार, १४ फागुन २०७४, ०९ : ०२
जेरुसेलममा दूतावास स्थापना गर्ने अमेरिकाको निर्णयप्रति टर्कीको आक्रोश

एजेन्सी । शनिबार टर्कीले अमेरिकाको जेरुसेलममा दूतावास स्थापना गर्ने निर्णयप्रति आक्रोश व्यक्त गर्दै शान्ति भङ्ग गराउने प्रयास भइरहेको भन्ने आरोप लगाएको छ । टर्कीका विदेश मन्त्रीले अमेरिकी प्रशासनको यो फैसला चिन्ताजनक भएको बयान दिँदै सो आरोप लगाएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका हुन् ।

शुक्रबार मात्र वासिङटनले आगामी मे महिनामा इजरायलको ७० औँ वार्षिकोत्सवसँगै दुतावास स्थापना गर्ने घोषणा गरेको हो । यसअघि टर्कीको राजधानी इस्तानबुलमा ५० भन्दा बढी मुलुकबीच भएको इस्लामिक सम्मेलनमा उच्च राजनीतिज्ञहरुले ट्रम्पको जेरुसेलमलाई इजरायलको राजधानी घोषणा गर्ने निर्णयको विरोध गरेका थिए । त्यसैले पनि अमेरिकाको यस फैसलाले उनीहरुको आफ्नै नीतिलाई समेत प्रभाव पार्ने निश्चित रहेको बताइएको छ ।

यसअघि प्यालेस्टाइन र इजरायलबीचको विवाद हिंसामा परिणत हुँदा संयुक्त राष्ट्र संघमा भएको निर्वाचनमा अधिकांश मित्रराष्ट्रले अमेरिकाको विपक्षमा मत दिएका थिए । त्यसकारण यसले अमेरिकाका सहयागी देशसँग पनि विवाद उत्पन्न गराउने बताइएको छ ।

शुक्रबार अमेरिकी प्रशासनकी प्रवक्ता हेदर नवेर्टले, ‘यस ऐतिहासिक कदमका लागि हामी अत्यन्तै उत्साहित छौँ र यसका साथै इजरायलको ७० औँ वार्षिकोत्सव पनि त्यसै समयमा पर्न गएको छ ’ भन्दै जानकारी दिएकी थिइन् । यसअघि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले इजरायलसँग सन् २०१९ मा मात्र अमेरिकी दुतावास निर्माण गरिने बताएका थिए । त्यसैले यो निर्णय अपेक्षा गरेभन्दा धेरै चाँडो भएको अन्तर्राष्ट्रिय समुदायले प्रतिक्रिया दिइरहेको बताइएको छ ।

उता हर्षित भएका इजरायलका प्रधानमन्त्री नेतानयाहूले शुक्रबार इजरायलका नागरिकहरुका लागि उत्कृष्ट दिन भएको बयान दिएका छन् । त्यस्तै प्यालेस्टाइनी राष्ट्रपतिका प्रवक्ता, नाबिल आबु रदेनाले भने एकलनिर्णयलाई कसैले मान्यता नदिने भन्दै सो कदम शान्ति स्थापनाका विरुद्ध रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले यसअघि, ‘मैले भनेको कुरा गरेरै छाड्छु’ भन्ने बयान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस