उत्तर कोरियामाथिको प्रतिबन्धले चीन आक्रोशित !

एजेन्सी

सोमबार, १४ फागुन २०७४, ०९ : ०१
उत्तर कोरियामाथिको प्रतिबन्धले चीन आक्रोशित !

अमेरिकाले शुक्रबार उत्तर कोरियामाथि लगाएको प्रतिबन्धलाई लिएर चीनले आक्रोश व्यक्त गरेको छ । प्योङयोङमा भइरहेको हतियार निर्माण कार्यलाई रोक्न आफूले पनि उत्तिकै प्रयास गरिरहेको बताउँदै चीनले अमेरिकाको एकल निर्णयको विरोध गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।

शुक्रबार राष्ट्रपति डोेनाल्ड ट्रम्पले अहिलेसम्मकै भारी प्रतिबन्ध बताउँदै यसले पनि काम नगरे दोस्रो चरणमा त्यो भन्दा कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।
यसबारेमा अहिले दक्षिण कोरिया पुगेका उत्तर कोरियाली प्रतिनिधिहरुबीच कुरा भइरहेको बताइएको छ ।  अमेरिकाले नयाँ प्रतिबन्ध अन्तर्गत २७ वटा कम्पनी र चीन लगायत सातवटा मुलुकका २८ जहाजहरुको व्यवसायिक प्रयोगमाथि रोक लगाएको छ ।

ती सबै कम्पनीहरुको सम्पतिमाथि रोक्का गर्नुका साथै अमेरिकी नागरिकलाई तिनीहरुसँग अन्तरक्रिया गर्न पनि निषेध गरेको बताइएको छ ।  यसअघि प्रतिबन्धको उल्लंघन गर्दै विभिन्न देशले जहाजमार्फत इन्धन लगायत सामग्री निर्यात गरेको खबर बाहिर आएपछि अमेरिकाले यस्तो फैसला गरेको बताएको छ ।

यसबारेमा चिनियाँ विदेश मन्त्रालयले बेइजिङमा दिएको बयानमा अमेरिकालाई कानून बमोजिम गम्भीर भएर यस मुद्दालाई अघि बढाउन आग्रह गरेको छ । चिनियाँ जहाज र कुनैपनि चिनियाँ नागरिकले उत्तर कोरियाको मुद्दामा हस्तक्षेप नगरेको बताउँदै मन्त्रालयले शनिबार अमेरिकी प्रशासनको कडा आलोचना गरेको हो ।

त्यस्तै चीन र अमेरिकाको सहकार्यमा कुनै प्रभाव नपार्न अमेरिकाले तुरुन्तै प्रतिबन्ध फिर्ता गर्नुपर्ने समेत चीनले माग गरेको छ ।  यसअघि चीनले अमेरिका र संयुक्त राष्ट्रको सबै नियम बराबर पालन गरिरहेको दाबी गर्दै चार वर्षमा अहिले उत्तरसँगको व्यवसाय सबैभन्दा कम भएको प्रमाण प्रस्तुत गरेको थियो । ताइवानको विदेश मन्त्रालयले चाहिँ यस मुद्दामा अमेरिकी प्रशासनसँग सम्पर्कमा गरिरहेको र उत्तर कोरियालाई सहयोग गर्ने आरोपीको चाँडै अनुसन्धान गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस