उत्तर कोरियाका विवादास्पद प्रतिनिधिविरुद्ध दक्षिण कोरियामा प्रदर्शन

एजेन्सी

सोमबार, १४ फागुन २०७४, ०८ : ५६
उत्तर कोरियाका विवादास्पद प्रतिनिधिविरुद्ध दक्षिण कोरियामा प्रदर्शन

एजेन्सी । उत्तर कोरियाबाट शीतकालिन ओलम्पिकको अन्तिम समारोहमा सहभागी हुन आएका विवादित जर्नेल, किम योङविरुद्ध दक्षिण कोरियामा प्रदर्शन भइरहेको छ । २०१० मा दक्षिण कोरियाको लडाकू जहाजलाई डुबाउनमा उनको संलग्नता रहेको आरोपपछि दक्षिण कोरियाले उनीमाथि प्रतिबन्ध लगाएको थियो । प्योङयोङले भने यस आरोपलाई नकार्दै आएपनि मृतकका परिवार र कन्जरभेटिभ राजनीतिज्ञहरुले उनको यात्राको विरोधमा प्रदर्शन गरिरहेका छन् ।

७४ वर्षीय जर्नेल किम सैन्य गुप्तचर विभागका उच्च अधिकारी हुन् । उत्तर कोरियाबाट आउने ८ जनाको प्रतिनिधि टोलीलाई उनले नेतृत्व गर्ने बताइएको छ । उनको शाषनकालमै योनप्योङ टापूमा दक्षिण कोरियाको लडाकू जहाजमाथि आक्रमण हुँदा उनी दोषी ठहर्याइएका थिए । सन् २०१४ मा सोनी पिक्चरको साइबर हमलाका लागि पनि उनी जिम्मेवार रहेको बताइएको थियो । यसपछि उनीमाथि अमेरिकाले २०१५ मा प्रतिबन्ध लगाएको थियो ।

अर्कोतर्फ दुवै देशले सम्बन्ध राम्रो हुँदै गइरहेको बताउँदा यस विरोध कार्यक्रमले राष्ट्रपति मुनको प्रयासलाई विफल पार्न सक्ने बताइएको छ । शीतकालीन ओलम्पिकमा दक्षिण कोरिया र उत्तर कोरियाबीच राम्रो सहकारिता देखिएको छ जसमा उनीहरुले एकै झण्डाका मुनि परेड खेले भने संयुक्त हकी टिमले पनि एकताको आभास गराएको अन्तराष्ट्रिय संचार माध्यमले बताएका छन् । तरपनि यी सबका बीच उत्तर कोरियाले गत वर्ष गरेको मिसाइल परीक्षणलाई नजरअन्दाज गर्न नमिल्ने  दक्षिण कोरियाका विज्ञहरुको भनाइ छ ।

त्यस्तै अर्कोतर्फ अमेरिकाको तर्फबाट आएकी राष्ट्रपति ट्रम्पकी छोरी इभान्काले उत्तर कोरियासँग भेट गर्ने खबरलाई अस्वीकार गरिसकेकी छन् । वासिङटनले गत शुक्रबार मात्र उत्तर कोरियमाथि थप नयाँ प्रतिबन्ध जारी गराउने घोषण गरेको थियो । त्यस्तै कन्जरभेटिव सरकार र नागरिकहरुले जर्नेल किमको भ्रमणप्रति विरोध जनाइरहेपनि दक्षिण कोरियाली सरकारले भव्य रुपमा उनको स्वागत गरिसकेको छ । यसका साथै राष्ट्रपति मुनसँग पनि उनको भेटवार्ताको कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस