जसपाले संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने

सफल खबर संवाददाता

शुक्रबार, ३० जेठ २०७७, १८ : ३६
जसपाले संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने भएको छ ।

जसपा नेपालको आज बसेको पदाधिकारी बैठकले सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको सो पार्टीका नेता विश्वदीप पाण्डेले बताए । 

नेपालको नयाँ नक्साअनुसार निशान छापलाई परिमार्जनका लागि नेपालको संविधानको अनुसूची –३ संशोधन गर्न संसदमा प्रस्तुत गरिएको नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय भएको पाण्डेले बताए ।

यसअघि तत्कालीन राजपा र समाजवादी पार्टीले संविधान संशोधनको छुट्टै विधेयक संसद् सचिवालयमा दर्ता गराएका थिए । 

जसपाकी सांसद सरिता गिरीले सरकारले प्रस्तुत गरेको विधेयक फिर्ता लिन माग गर्दै संसद् सचिवालयमा छुट्टै विधेयक दर्ता गराएकी छिन् । उक्त विधेयक फिर्ता लिन समाजवादी पार्टीको संसदीय दलले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस