मौसम परिवर्तनसँगै कोरोना भाइरसमा कस्तो असर हुन्छ, स्पष्ट छैन : डब्लुएचओ

एजेन्सी

विहीबार, २९ जेठ २०७७, १० : २३
मौसम परिवर्तनसँगै कोरोना भाइरसमा कस्तो असर हुन्छ, स्पष्ट छैन : डब्लुएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसमा मौसम परिवर्तन हुँदा कस्तो असर पर्छ भन्ने स्पष्ट अनुसन्धान नरहेको जनाएको छ ।

डब्लुएचओका आपतकालीन कार्यक्रम प्रमुख माइक रायनले पृथ्वीको दक्षिण ध्रुवमा जाडो मौसम आउँदा त्यसको कोरोना भाइरसको प्रभाव कस्तो पर्छ भन्ने स्पष्ट नरहेको बुधबार ब्रिफिङ्गको क्रममा बताएका हुन् । उनले भनेका छन्, ‘हामीलाई थाहा छैन कि कोरोना भाइरसको व्यवहार कस्तो हुनेछ । तत्काल हामीसँग त्यस्तो कुनै तथ्यांक छैन कि जसले जाडो मौसममा कोरोना भाइरस थप आक्रमणक हुन्छ वा शिथिल हुन्छ ।’

यस्तै पृथ्वीको उत्तरी ध्रुवमा गर्मी यामको आगमनसँगै कोरोना भाइरसमा कस्तो प्रभाव पर्छ भन्ने पनि स्पष्ट नरहेको उनको भनाई छ । यसले गर्दा मौसमले कोरोना भाइरसको प्रभाव कम वा बढी हुन्छ भन्ने भ्रममा नपरी सावधानी अपनाउन उनले सुझाव दिएका छन् ।

उनले भनेका छन्, ‘हामी मौसमी याम वा फेरिने तापक्रम कोभिड–१९ को संक्रमण फैलिन नदिने उपाय हो भन्नेर त्यसमै भर पर्न सक्ने अवस्था छैन ।’ महामारीको सुरुमा गर्मी बढ्दै गएपछि कोरोना भाइरसको संक्रमण शिथिल हुने केहीले तर्क गरेका थिए । तर तीव्र गतिमा संक्रमण फैलियो । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सावधानी नै प्रमुख उपाय रहेको डब्लुएचओले लगातार जोड दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस