कोरोना संक्रमितको उपचारमा प्रतिदिन ३८ हजारसम्म खर्च हुने

पत्रपत्रिकाबाट

विहीबार, २९ जेठ २०७७, ०७ : ४१
कोरोना संक्रमितको उपचारमा प्रतिदिन ३८ हजारसम्म खर्च हुने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रतिव्यक्ति प्रतिदिन ३८ हजार रुपैयाँभन्दा बढी लाग्ने अनुमानित लागत तयार पारेको छ। मन्त्रालयले संक्रमित बिरामीको अवस्था र आवश्यकताका आधारमा प्रतिसंक्रमित प्रतिदिन ६ हजारदेखि ३८ हजारसम्म खर्च लाग्ने अनुमानसहितको योजना तयार पारेको हो।

मन्त्रालयले तयार पारेको ‘कोभिड–१९ हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ मा सामान्यदेखि गम्भीर प्रकारका संक्रमितलाई आधार मानिएको छ। योजनामा सामान्य (माइल्ड), मध्यम (मोडरेटेड), गम्भीर (सेभियर) केसका आधारमा प्रतिदिन प्रतिव्यक्ति लाग्ने खर्च अनुमान गरिएको हो।

योजना अनुसार सामान्य अवस्थामा रहेका संक्रमितको केसमा आवश्यकता हेरी प्रतिदिन ६ हजारदेखि साढे १४ हजारसम्म उपचार खर्च लाग्ने देखिन्छ। मध्यम केसमा प्रतिदिन १० हजारदेखि करिब २४ हजार लाग्ने अनुमान छ। त्यस्तै गम्भीर अवस्थाका संक्रमितको केसमा प्रतिदिन १९ हजारदेखि ३८ हजार रुपैयाँसम्म उपचार खर्च लाग्ने अनुमान गरिएको छ। यो रकम जनशक्ति, खाद्यान्न र पिपिई जोडेर हो।  

सामान्य अवस्थाको संक्रमितको उपचारको हकमा जनशक्ति, खाद्यान्न र पिपिईको पहिला नै व्यवस्था भइसकेको रहेछ भने ६ हजार ५२ रूपैयाँमा प्रतिव्यक्ति प्रतिदिन उपचार गर्न सकिनेछ। जनशक्ति पहिला नै व्यवस्थापन भइसकेको र खाद्यान्न र पिपिईमा मात्र खर्च गर्नुपरेको अवस्थामा १३ हजार दुई सय ३१ रूपैयाँमा प्रतिदिन प्रतिव्यक्ति उपचार हुने अनुमानित लागत निकालिएको छ। खाद्यान्नको व्यवस्थापन पहिला नै भइसकेको तर जनशक्ति र पिपिईमा खर्च गर्नुपर्ने अवस्थामा आएमा १२ हजार पाँच सय ९३ रूपैयाँ लाग्नेछ। त्यस्तै पिपिईको किन्नु नपर्ने अवस्थामा जनशक्ति र खाद्यान्नका लागि नौ हजार तीन सय ३९ रूपैयाँ लाग्ने अनुमान छ। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस