एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस महामारीको अवस्था दिन प्रति दिन थप खराब बन्दै गएको बताएको छ ।
सोमबारको प्रेस ब्रिफिङ्गको क्रममा डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले युरोपमा महामारी कमजोर हुँदै गएर अवस्था सुधार भइरहे पनि विश्वका अरु क्षेत्रमा भने थप संकट उत्पन्न भएको बताएका हुन् । पछिल्लो १० दिनमा ९ दिन विश्वभर प्रतिदिन एक लाख भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।
त्यसमध्ये ७५ प्रतिशत भन्दा बढी संक्रमित १० देशका रहेको डब्लुएचओले उल्लेख गरेको छ । डब्लुएचओका अनुसार आइतबार विश्वभर एक लाख ३६ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय अमेरिका, ब्राजिल, भारत र पाकिस्तानमा संक्रमण तीव्र रुपमा बढिरहेको देखिएको छ ।
जोन्स हप्किन्स विश्व विद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वमा कुल संक्रमितको संख्या ७१ लाख १८ हजार भन्दा बढी पुगेको छ । त्यसमध्ये चार लाख ६ हजार भन्दा बढीको मृत्यु भएको छ ।
अहिलेसम्म ३० लाख भन्दा बढी मानिस संक्रमण मुक्त भएर घर फर्किएका छन् । सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या १९ लाख ६० हजार भन्दा बढी रहेको छ । त्यसमध्ये एक लाख १० हजार ९ सय भन्दा बढीको ज्यान गएको छ । पछिल्लो समय महामारीको इपिसेन्टर बनेको दक्षिण अमेरिकी देश ब्राजिलमा संक्रमितको संख्या सात लाख सात हजार भन्दा बढी पुगेको छ । त्यहाँ कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ३७ हजार १३४ रहेको छ ।
डब्लुएचओका प्रमुख डा। टेडरोजले अवस्था केही देशमा सुधार हुँदै गएको देखिए पनि सावधानी नअपनाए महामारीको अर्को लहर सुरु हुन सक्ने र सो चरण थप भयानक हुने चेतावनी दिएका छन्। उनले भनेका छन्, ‘संक्रमण फैलिरहेका देशहरुमा सावधानी थप प्रभावकारी बनाउनु पर्छ र घट्दो क्रममा रहेका देशहरुले पनि सावधानी कम गर्नु हुँदैन ।’
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
गाजामा अझै भोकमरी बढ्न सक्ने डब्लुएचओको चेतावनी
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
अफ्रिकाका १५ करोड मानिस ‘चरम गरिबी’मा : डब्लुएचओ