पसल बन्द गराउन खोज्दा नमानेपछि प्रहरी र व्यवसायी बिच झड्प

सफल खबर संवाददाता

मंगलबार, २७ जेठ २०७७, १० : २६
पसल बन्द गराउन खोज्दा नमानेपछि प्रहरी र व्यवसायी बिच झड्प

काठमाडौँ । काठमाडौं न्यूरोडमा खोलिएको पसल बन्द गराउने क्रममा व्यवसायी र प्रहरी बिच झडप भएको छ । प्रहरीले लकडाउन उल्लंघन गर्दै पसल खोलेको भन्दै बन्द गराउन खोज्दा व्यापारीहरुले नमानेपछि न्युरोड क्षेत्रमा तनाव भएको छ ।

मंगलबार बिहान सो क्षेत्रका पसलहरु खुलेपछि प्रहरीले व्यापारीहरुलाई नखोल्न निर्देशन दिँदै हिँडेको थियो । स्थानीयका अनुसार प्रहरीले पसल बन्द गर्न दिएको निर्देशन व्यापारीहरुले नमानेपछि झडपको स्थिति आएको थियो । तनावपछि न्युरोड गेट, रन्जना गल्ली आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

व्यापारीहरुले लामो लकडाउनले समस्यामा परेको भन्दै लकडाउन उल्लंघन गरेर केही दिनयता पसल खोल्दै आएका छन् । तनावपछि व्यापारी र प्रहरीबीच भएको छलफलका क्रममा दुई दिनसम्म पसल बन्द गर्ने र त्यसपछि समझदारीका आधारमा अघि बढ्ने सहमति भएको प्रहरीले जनाएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भएको बैठकले पनि व्यापारीलाई पसल खोल्न अवरोध नगर्ने निर्णय गरेको थियो । र, सोही अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्च स्तरीय समितिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस