Safal Khabar - 'यो त्रेतयुगको रामराज्य कहाँ हो र ? यो त कलियुगको कम्युनिष्ट राज्य पो हो त'
सोमबार, २६ साउन २०७७ (Monday, 10 August, 2020)
विस्तृतमा हेर्नुहोस् »
'यो त्रेतयुगको रामराज्य कहाँ हो र ? यो त कलियुगको कम्युनिष्ट राज्य पो हो त'
सोमबार, २६ जेठ २०७७, १२ : १४
'यो त्रेतयुगको रामराज्य कहाँ हो र ? यो त कलियुगको कम्युनिष्ट राज्य पो हो त'
फाइल फाेटाे

- प्रयास श्रेष्ठ

राम अयोध्याको राज सिंहासनमा बसेको भोलिपल्ट भरतले राज्यको ढुकुटी देखाउँदै भने ‘दाई तपाईं वनबास गएको १४ वर्षपछि यो राजदरबार र राजढुकुटीको अवलोकन गर्दै हुनुहुन्छ । मैले पिताश्रीले जम्मा गर्नुभएको ढुकुटीबाट एक असर्फी पनि खर्च गरेको छैन । बरु यो राज ढुकुटीलाई १० गुण वृद्धि गरेको छु ।’ रामले मुसुमुसु हाँस्दै भाइ भरतलाई धन्यवाद दिए ।

त्यसको भोलिपल्ट रामले आफ्नो देशका जनताको अवस्था हेर्ने चासो गरे । सबैतिर हेर्दा १४ वर्ष अघि आफू वनबास जानेबेलामा जस्तो थियो जनताको जीवनस्तर उस्तै देखे । त्यसको भोलिपल्ट उनले आफ्नो राज्यमा कर तिर्ने जति सबै जनतालाई राजदरबारमा बोलाए । सबैले ठाने राजाले हामीलाई कर माग्न बोलाएका हुन् । त्यसैले आफुसँग जेजे थियो त्यो बोकेर जनताहरू राजदरबारमा हाजिर भए ।

Yeti Diistillery
Tansen Cement box

राजा रामले दरबारमा हाजिर भएका सबैलाई पालैपालो सोधे, तपाईंहरुको अवस्था के छ ? जीवनयापन कसरी चल्दैछ ? खानलाउन त पुग्छ नि ? कुनै समस्या छ कि ? यो सुनेर जनताहरु अनुत्तरित भए । भावव्यहोल भए । उनीहरु(जनता)को अनुहार हेरेर रामले समस्याको चाल पाइहाले ।

त्यसै बखत जनतालाई सम्बोधन गर्दै रामले भने, ‘नआत्तिनुहोस् । तपाईंहरूलाई पुगेर उब्रेको मात्रै राजालाई कर तिर्नु, आज उप्रान्त म राजा भइन्जेल आफुलाई खानलाउन खाँचो पारेर, बालबच्चा भोकै राखेर कर तिर्नु पर्दैन । बरु खानलाउन अभाव भए, बस्न समस्या भए मलाई भन्नु ।’

‘राजा भनेको पिता हो, जनता सन्तान हुन् । पिताको दायित्व सन्तानको लालनपालन गर्नु हो । अब यो राज्यका सम्पूर्ण जनताको सम्पूर्ण दायित्व मेरो हो । उमेर हुने र सक्ने सबैले अनिवार्य काम गर्नु । बुढापाका र रोगीलाई सम्मान गरेर स्याहार–सुसार गर्नु । बालबच्चालाई माया गरेर जिम्मेवारी सिकाउँदै हुर्काउनु ।’

यति भनेर रामले सबै जनतालाई स–सम्मान फर्काइदिए । जनताहरु निकै खुशी भएर हर्सोलासका साथ राजको जयजयकार गर्दै फर्किए । रामले राज्य संचालन गरेपछि उक्त राज्यभर कोही भोकै नाङ्गै भएनन् । संसारभर राम राज्यको नामले प्रख्यात भयो । राजा रामलाई भगवान मान्न थालियो ।

अहिले नेपालमा चर्को बहसको रुपमा उठिरहेको करको विषयमा यो कथाको प्रसंग जोड्न मात्र खोजिएको हो । कथामा वर्णन गरिए जस्तो यो पहिलको त्रेतायुगको रामराज्य त होइन तर अहिलेको कलियुगको कम्युनिष्ट राज्य भने पक्कै हो ।

यतिखेर विश्व नै कोरोना महामारीसँग लडिरहेको छ । जीउ, ज्यान, धन सबै सक्ने गरी संसारभर नै फैलिरहेको कोरोनाबाट नेपाल पनि अछुतो छैन । कोरोनाबाट आक्रान्त मुलुकमा जनजीवन नै अस्तव्यस्त पार्ने गरी अघि बढेको यो प्रकोप अझै कति परजाने हो कुनै टुंगो छैन । तर यहाँ कोरोना महामारीको रोकथामका लागि भनेर अबलंबन गरिएको सुरक्षाको कवच ‘लकडाउन’ नै देश र जनताका लागि भारी पर्न थालेको छ ।

कोरोना, कोरोनापछिको लकडाउन र लकडाउनले निम्त्याएको वेरोजगारी समस्याले सर्वसाधारणलाई पिरोल्नु समेत पिरोलेको छ । लकडाउनका कारण बन्द उद्योग, कल कारखाना, व्यापार व्यवसायदेखि बजार सम्मका कारण व्यवसायीहरुलाई मात्र नभएर आम सर्वसाधारणलाई समेत समस्यामा पारेको छ । यस्तो अवस्थामा विहान–बेलुकाको छाक टार्न समेत जनताहरुलाई हम्मेहम्मे परिरहेको छ । तर, सरकार यस्तै अवस्थामा पनि जनतासँग तिरो(कर) उठाउने कसरत गर्दैछ ।

गत चैत देखि निरन्तर जारी लकडाउनले करिब तीन महिना छुन लाग्यो । यी बीचमा सबै घरभित्र थुनिएँ भने, सबै जसो व्यापार व्यवसाय, कल, कारखाना, उद्योग धन्दाहरु बन्द रहे । आम्दानीका स्रोतहरु सुके भने, खर्चहरु बढे । यस्तो अवस्थामा अझ केहिदिन पर लकडाउन बढ्यो भने कसरी बाच्ने भन्ने पिरलो यतिखेर जनतामा छ । अब रोगले भन्दा पनि भोकले मरिने भइयो भनेर जनताहरु त्राहिमाममा छन् । तर यता सरकार भने कर असुलिको डण्डा उठाउँदैछ । मरिस् भने पनि कर नतिरी मर्न पाउँदैनस् भनेजसो गरिरहेको छ ।

यहाँ निर माथिको कथा फेरी एकपटक स्मरण गर्न मनलाग्छ । जब कि राजा रामले आफ्ना प्रजा(जनता)हरुलाई आफुलाई नपुग्ने अवस्थामा राज्यलाई कर तिर्नुपर्दैन, बचेको मात्र कर तिर्नु भनेका थिए । तर यहाँ त सरकार नभएपनि खोजी खोजी सापटी गरेर भनेपनि कर तिर्नुपर्छ भनिरहेको छ ।

गत २० गते मात्र सरकारले एक सार्वजनिक सूचना जारी गर्दै समय सीमा नै तोकेर करदाताहरुलाई कर तिर्न उर्दी जारी ग¥यो । चैतदेखिको बाँकी तीन महिनाको आय कर, अन्तशुल्क कर मूल्यअवृद्धि कर सबैखाले कर तिर्न सर्वसाधारणमा ताकेता ग¥यो । तर, लकडाउन रहेकै अवस्थामा बन्द व्यापार व्यवसायबाट कर तिर्न नसक्ने भरेर व्यवसायीहरुले हात उठाए । यता सर्वसाधारणबाट पनि सरकारको चर्को विरोध भयो । लकडाउनमा बन्द सटरबाट कर मागियो भनेर चौतर्फी विरोध भयो । अन्ततः चौतर्फी विरोधपछि सरकार पछि हट्न बाध्य भयो । जेठ २५ लाई अन्तिम समय सीमा तोकेर कर ताकेता गरेको सरकारले थप १४ दिन बढाएर कर तिर्ने समय सीमा असार ७ गतेसम्म पु¥याइदिएको छ । तर, अब भने सरकार पछि हट्नेवाला छैन । व्यवसायीहरुले एक महिना, दुई महिना, लकडाउन खुलेपछि भने पनि अब सरकार सुन्नेवाला छैन । कारण चालु आर्थिक वर्षको अन्तिम अन्तिममा सरकार छ । अब त नचाहेर पनि कर तिर्नै पर्ने बाध्यात्मक अवस्था बन्दै छ ।

यसै प्रसंगमा फेरि माथिकै राम राज्य कथनको अर्को पाटोको एक किस्सा सुनाउन मन लाग्यो । यता अयोध्यामा राम राज्य सुरु हुनुभन्दा अघिदेखिनै उता लङ्कामा रावणले शासन गरिरहेका थिए । रावणको शासनमा आफ्ना आफन्त र आफ्ना कूल कुटुम्बकालाई भने सुविधै सुविधा उपलब्ध थियो । अपुग केही थिएन । लङ्का अत्यन्तै समृद्ध थियो । तर लङ्काले उपनिवेश बनाएका सबै भूभागहरूमा हाहाकार हुन्थ्यो । रावणका सैनिकहरू कर उठाउन गएको बेला कसैले कर तिर्न सकेन भने आफ्नो रगत भए पनि दिएर पठाउनु पथ्र्यो । रगत पनि आएन भने प्राणै समेत पनि दिनुपथ्र्यो । रावणले कर तिर्न नसक्ने हजारौँ सन्यासीहरूको रगत संकलन गरेका थिए रे ।

अहिले हाम्रो सरकारले यस्तै व्यवहार देखाउँदे छ । कतै सरकार उही रावणपथमा नै हिँड्ने प्रयत्न त गरिरहेको छैन ? कोरोना कोरोनापछिको लकडाउनबाट प्रभावित वन्द व्यापार व्यवसायबाट कसरी कर तिर्ने ? कोरोनाका कारण रोजगारी गुमाएका, व्यापार व्यवसाय गुमाएका सर्वसाधारणहरु भोक भोकै मर्दैछन् । तर त्यहि श्रमिक वर्गको प्रतिनिधित्व गर्छु भन्ने कम्युनिष्ट घटक सरकार जसरी पनि कर उठाउछु भन्दै छ ।

हुनत यो त्रेतयुगको रामराज्य कहाँ हो र ? यो त कलियुगको कम्युनिष्ट राज्य पो हो त । गरिब, असाहय, वेसहारा श्रमिक वर्गको प्रतिनिधित्व गर्ने कम्युनिष्ट सरकार पो हो त । अनि अप्ठेरोमा परेका जनताबाट कर नउठाएर के गर्नु त ? त्यसैले मान्य जनवर्ग हो असार ७ गते भित्र नै कर तिर्न तयार हुनुहोस् । (राताेपाटीबाट)

प्रतिक्रिया दिनुहोस