एकसाता यता सुदुरपश्चिमको विभिन्न क्वारेन्टाइनमा बसेका ७ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २५ जेठ २०७७, ११ : २०

काठमाडौं । एक साता यता सुदूरपश्चिमका विभिन्न क्षेत्रका क्वारेन्टाइनमा बसेका ७ जनाले ज्यान गुमाएका छन् । आइतबारसम्म सुदूरपश्चिमका ४ जिल्लाका विभिन्न क्वारेन्टाइनमा ७ जनाले ज्यान गुमाएका हुन् ।

बैतडी, डडेल्धुरा र बाजुराको क्वारेन्टानमा २-२ जना र डोटीको क्वारेन्टानमा १ युवकको मृत्यु भएको हो । उनीहरूमध्ये ४ जनाको कोरोना जाँच भएकोमा ३ को रिपोर्ट नेगेटिभ र १ जनाको रिपोर्ट पोजिटिभ आएको छ । ३ जनाको भने कोरोना परीक्षण को रिपोर्ट आउन बाँकी रहेको छ ।

आइतबार बिहान डोटीको केआईसिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टानमा भारतबाट फर्किएका १९ वर्षीय युवकको मुत्यु भएको हो । भारतको लुधियानाबाट १९ जेठमा डोटी पुगेका उनी २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्त क्वारेन्टाननमा बस्दै आएका थिए ।

मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने, ‘उक्त क्वारेन्टानमा रहेका १० जनाकै स्वाब संकलन गरी आजै धनगढी पठाउछौँ, साँझसम्म रिपोर्ट आउन सक्छ ।’ उनले रिपोर्ट नआउँदासम्म शव व्यवस्थापन नगर्ने उनले बताए ।  

प्रतिक्रिया दिनुहोस