श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्न शीर्ष नेता भरतपुरमा

मंगलबार, ०५ मंसिर २०७४, ११ : ५५
श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्न शीर्ष नेता भरतपुरमा

चितवन । नेकपा माओवादी केन्द्रका केन्द्रीय युवा नेता प्रकाश दाहालको आइतबार बिहान असामयिक निधन भएपछि संयुक्त वाम गठबन्धनले आज मंगलबार देशैभर श्रद्धाञ्जलि सभाको आयोजना गरेको छ । चितवनको भरतपुरमा अब केही बेरमा सुरु हुने श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्न नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता भरतपुर आइपुगेका छन् ।
सभामा सहभागी हुने एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष एवं दिवंगत प्रकाशका बुबा पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बादल लगायतका शीर्षस्थ नेता विमानबाट मंगलबार भरतपुर आइपुगेका हुन् ।


सभास्थल भरतपुर केन्द्रीय बस टर्मिनल अगाडिको खुल्लाचौरमा वाम गठबन्धनका नेता तथा कार्यकर्ता गाउँगाउँबाट आइरहेका छन् । सभास्थल अहिले खचाखच भरिएको अवस्थामा छ । 


सभामा सहभागी हुन आएकाहरुले चुनाव चिह्न अंकित झण्डासँगै पार्टीको झण्डा पनि बोकेका छन् । गाउँगाउँबाट सहभागीहरु आउने क्रम करिब सकिएको संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति चितवनका संयोजक अमिक शेरचनले जानकारी दिए । अब केहीबेरमा सभा सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस