लकडाउन प्रभाव

पर्सामा जोर–विजोर प्रणालीमा पसल, बजार खुल्ने

सफल खबर संवाददाता

विहीबार, २२ जेठ २०७७, ११ : ३२
पर्सामा जोर–विजोर प्रणालीमा पसल, बजार खुल्ने

file photo

विरगंज । कोरोना सन्त्रासका कारण सरकारले आव्हान गरेका लकडाउनका कारण लामो समयदेखि बन्द रहेको पर्साका पसल–व्यवसायहरु खुल्ने भएको छ । स्थानिय प्रशासनले पसल व्यवसायहरु संचालन गर्न जोर–विजोरको नियम ल्याएसंगै सो अनुसार नै खुल्ने भएको छ ।

जेठ २३ गते शुक्रबारदेखि पर्साका पसल व्यवसायहरु जोर–विजोर गते गरेरआलोपालो खुल्ने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । शुक्रबारदेखि जोर गतेका दिन रेडिमेट कपडा, कस्टेमेटिक, ईलेक्टिकलस , ईलेक्ट्रोनिक्स पसलहरु बिहान ११ बजेदेखि ४ बजेसम्म खोल्न दिने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

यस्तै विजोर गतेका दिन हाडवेयर, साईकल, मोटर तथा मोटर पार्टस, अटोवर्कस, भाँडावर्तन, सुनचाँदी, फर्निचर लगायतका पसलहरु खोल्न दिने निर्णय गरिएको बस्नेतले बताए । जिल्ला प्रशासन कार्यालय पर्सामा बुधबार पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले लामो समयदेखिको बन्दाबन्दीले अर्थतन्त्रमा परेको असर र अत्यावश्यक बस्तुहरुको सहज आपूर्ति तथा जिल्लाका व्यावसायीहरुले संक्रमण नफैलिने गरी व्यवसाय सञ्चालनको व्यवस्था मिलाई दिन गरेको अनुरोधलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो । 

बैठकले अत्यावश्यक बस्तु बिक्री गर्ने पसलहरु बिहान ५ बजेदेखि ९ बजेसम्म हरेक दिन खोल्न अनुमति दिएको छ । तर हाटबजार, खुल्ला स्थानमा भने बिक्री गर्न नदिने निर्णय गरेको छ । माछा–मासु, कुखुराको दाना, पशु आहार, खाद्य किराना, कृषि उत्पादन मल, बिउ लगायत मालबस्तुको ढुवानी हरेका दिन साँझ ७ बजेपछि गर्न दिने समितिले निर्णय गरेको छ । पसल सञ्चालन गर्दा सामाजिक दूरी भने अनिवार्य कायम गरिनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस