यसरी हुन्छ संविधान संशोधन

पत्रपत्रिकाबाट

विहीबार, २२ जेठ २०७७, ०७ : २८
यसरी हुन्छ संविधान संशोधन

काठमाडौँ । भारतले अतिक्रमण गरेको भूमिलाई समेटेर अद्यावधिक गरिएको नेपालको राजनीतिक र प्रशासनिक नक्सा अनुसार निसान छाप परिवर्तनका लागि सरकारले जेठ ८ गते प्रतिनिधि सभामा संविधान संशोधन विधेयक दर्ता गरेको छ । सरकारले संशोधन विधेयक ल्याएसँगै यसअघि विषयान्तर भएका संविधान संशोधनका केही विषय पुनः ब्युँतिए ।  

मधेस केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले गैरसरकारी विधेयक दर्ता गरे । त्यसको भोलिपल्टै जेठ २० गते तराई मधेसबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका आठ सांसदले पनि संशोधन विधेयक दर्ता गरेका छन् । संविधानको आधारभूत संरचनासमेत परिवर्तन गर्ने गरी राष्ट्रिय जनमोर्चाले संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता गरेको छ ।

के हुन्छ प्रक्रिया ?
संविधान संशोधन विधेयक दर्ता भएसँगै जेठ १८ गते सदनमा पेस भइसकेको छ । पेस भएको विधेयक प्रतिनिधि सभा नियमावली अनुसार सर्वसाधारणको जानकारीका लागि प्रकाशन भइसकेको छ । नेपाल राजपत्रमा पनि सूचना प्रकाशित भइसकेको छ । नियमावली अनुसार प्रकाशनको सात दिनपछि अब विधेयक सात दिनपछि बस्ने कुनै पनि बैठकमा सैद्धान्तिक छलफलका लागि पेस हुन सक्नेछ ।

सैद्धान्तिक छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव अघि बढ्न सक्नेछ । अर्थात् विधेयकमाथि संशोधनको चरण सुरु हुनेछ । संशोधनका क्रममा जुन धारा संशोधनका लागि ल्याइएको हो, त्यसमा मात्र संशोधन दर्ता हुनेछ । नियमावली अनुसार यसरी संशोधन गर्न पाउने समय ७२ घण्टाको हुनेछ । यसरी प्राप्त संशोधनको सङ्ख्या हेरेर सभामुखले दफाबार छलफलका लागि विशेष समिति गठन गर्न सक्ने व्यवस्था नियमावलीमा छ । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस