सुस्तावासी भन्छन् : 'नयाँ नक्सामा सुस्ताको क्षेत्रफललाई पनि समेटौं'

सफल खबर संवाददाता

बुधबार, २१ जेठ २०७७, ०९ : ४४
सुस्तावासी भन्छन् : 'नयाँ नक्सामा सुस्ताको क्षेत्रफललाई पनि समेटौं'

काठमाडौं । नेपालको भारतसँग मुख्य दुई स्थानमा विवाद छ । त्यो हो – कालापानी र सुस्ता क्षेत्र । यो क्षेत्रको विवादलाई भारतले पनि स्वीकार गरेको थियो र आपसी सम्वादबाटै समाधान खोज्ने बताएको थियो । तर कालापानी क्षेत्रमा भारतले वार्ता र सम्वादमा भन्दा पनि निरन्तर अतिक्रमणको शैलीमा मात्र आफ्नो रवैया देखाउन थाल्यो ।

भारतको हेपाहा र अतिक्रमणकारी शैलीका विरुद्ध नेपाल सरकारले पनि आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा अध्यावधिक गर्दै त्यो भूमि समेटेर नक्सा जारी गरेको छ । यही बेला सरकारलाई सुस्तावासीले आफ्नो क्षेत्रको सिमा विवादलाई पनि समेट्न आग्रह गरेका छन् । सरकारले जारी गरेको नक्सामा सुस्ता क्षेत्रको भूभाग समेत स्पष्ट तोकेर अगाडी बढन सरकारलाई आग्रह गरेका हुन् ।  

सुस्ता क्षेत्रको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), सुस्ता गाउँपालिका–५ सुस्ताको १४ हजार ५०० हेक्टर नेपाली भूमि भारतले अतिक्रमित गरेको छ । नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा अध्यावधिक गर्दा सुस्ता क्षेत्रको क्षेत्रफल लाई पनि स्पष्ट रुपमा उल्लेख गर्न सुस्तावासीले सरकारलाई आग्रह गरेका हुन् ।  

सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले भने,–‘सुस्तासहित भारतले अतिक्रमण गरेका भूभागमा सीमाङ्कन गरी जङ्गे पिलर सीमास्तम्भ कायम गर्नुपर्ने हाम्रो माग छ । कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा नक्सा अध्यावधिक गरिरहदा सुस्ता क्षेत्रका प्रष्ट क्षेत्रफलका बारेमा पनि सरकार ले किटान गरी अगाडी बढनुपर्छ ।’ 

करिब १९ हजार ४८० हेक्टर जमिन विवादित भन्दै भारतले सुस्तावासीलाई उपयोग गर्न नदिएको गुरुङले बताए । भारतले विसं २०६२ देखि २०६४ भित्रमा सुस्ता क्षेत्रमा अतिक्रमण गरेको थियो । अहिले भोगचलन गर्दै आएको सात हजार हेक्टर जमिनमा पनि नेपालीहरु लालपुर्जाको समस्यामा रहेकोले तत्काल नापी नक्सा गरी जग्गाधनी पुर्जा वितरण गर्नुपर्ने उनले बताएका छन् । 
 

प्रतिक्रिया दिनुहोस