Safal Khabar - राष्ट्रपति कार्यालयमा गलैँचा फेर्ने , बाथरुम सजावट गर्ने एक करोड ८४ लाख !
आइतबार, २८ असार २०७७ (Sunday, 12 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
राष्ट्रपति कार्यालयमा गलैँचा फेर्ने , बाथरुम सजावट गर्ने एक करोड ८४ लाख !
मङ्गलबार, २० जेठ २०७७, ०७ : ०९
राष्ट्रपति कार्यालयमा गलैँचा फेर्ने , बाथरुम सजावट गर्ने एक करोड ८४ लाख !
फाईल फोटो

काठमाडौं । राष्ट्रपति कार्यालयमा गलैँचा मात्र होइन, शौचालयको सजावट पनि यही वेला हुन लागेको छ । बैठक र शौचालय भव्य बनाउन सरकारले दुईथरी टेन्डरमार्फत एक करोड ८४ लाखमा ठेक्का दिने निर्णय गरिसकेको छ । 

राष्ट्रपति कार्यालयमा हुन लागेको यो सजावट कोभिड सुरु हुनुअघिको होइन । यसका लागि ठेकेदार छनोट भएको सूचना १३ जेठ र १७ जेठमा सार्वजनिक गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले १३ जेठको सूचनाअनुसार एक करोड ५७ लाख र १७ जेठको सूचनाअनुसार २७ लाख रुपैँया खर्च गर्न थालेको हो ।

विभागअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले हिमालयन डेकोर तथा श्री विकोई-इन्द्रेणी-सुप्रिम जेभिईलाई दिने निर्णय गत ९ जेठमा गरेको हो । तीन वर्षअघि मात्र निर्माण सम्पन्न भएको भवनमा यसरी पौने दुई करोड खर्च गर्न लागिएको छ ।

Yeti Diistillery

‘संकटको यो वेला अत्यावश्यक खर्च मात्र गर्ने सरकारी नीति छ,’ सहरी विकास विभागकै एक अधिकारी भन्छन्, ‘तर, राष्ट्रपति कार्यालयका लागि हो भनेपछि हामी बोल्न मिलेन, भएका सामान फालेर नयाँ सामान किन्ने काम भइरहेको छ ।’ 

राष्ट्रपति कार्यालयमा गलैँचा फेर्ने ठेक्का पाएको हिमालयन डेकोर गण्डकी प्रदेशका नेकपा सांसद रामबहादुर गुरुङको हो । उनी तनहुँ–१ (क) बाट निर्वाचित भएका हुन् । 

त्यस्तै, राष्ट्रपति कार्यालयको बगैँचा सजाउन मात्र वार्षिक ४२ लाख रुपैयाँ खर्च हुने गरेको छ । यो वर्ष बजेट व्यवस्थापनका लागि राष्ट्रपति कार्यालयले प्रितम बगैँचा निर्माण प्रालि, कागेश्वरी मनहरालाई ४२ लाख आठ हजार ६ सय ४० रुपैयाँमा ठेक्का दिएको छ । गत असोजमा नै सो कम्पनीलाई यससम्बन्धी ठेक्का दिइएको स्रोत बताउँछ । राष्ट्रपति कार्यालयमा पहिलेदेखि नै बगैँचा र फूलबारी भए पनि त्यसको व्यवस्थापनका लागि मात्र ४२ लाख खर्च गरिएको हो । तीन वर्षअघि ६८ करोडमा नयाँ भवन बनाइएको थियो ।

नजिकै रहेको प्रहरीको तालिम प्रतिष्ठान तथा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई समेत हटाएर राष्ट्रपति कार्यालय विस्तार गर्न लागिएको छ । राष्ट्रपति कार्यालय अझ फराकिलो बनाउन सँगैको प्रहरी प्रशिक्षण प्रतिष्ठान र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) कार्यालय हटाउन सरकारले ताकेता गरेको छ । नयाँ पत्रीकामा खबर छ । 

प्रतिक्रिया दिनुहोस