विचार

रुकुममा भएकाे प्रेमीको हत्याले कलङ्कित भयाे नेपाली समाज

वीरेन्द्रमणि पौडेल

सोमबार, १९ जेठ २०७७, १७ : १३
रुकुममा भएकाे प्रेमीको हत्याले कलङ्कित भयाे नेपाली समाज

साङ्केतिक फोटो

– वीरेन्द्रमणि पौडेल

CG Hills

केही दिनअघिमात्रै नवराज विकजीको एउटा जीवनसाथी भित्र्याउने चाहना पूरा गर्ने सिलसिलामा छिमेकी जिल्ला रुकुममा ज्यान गयो । सुष्मा मल्लजी नवराजजीको प्रेमीका हुन् भन्ने कुरा मल्ल परिवार र विक परिवार दुवैलाई थाहा थियो । जाजरकोट निवासी नवराज र रुकुम बस्ने सुष्माबीचको पिरती झ्यांगिएर छिप्पिएपछि मात्रै मल्ल परिवारले अस्वीकार गरेको देखियो । शुरुका दिनमै थाहा भएको भए सामान्य कुराकानीमै प्रेम विषय टुंगिन्थ्यो पनि होला, तर प्रेम छिप्पिएपछि यस्तै हुन्छ । संसारका प्रेमी प्रेमिकाबीच असफल सम्बन्धको ऐतिहासिक कथाहरुले यस्तै प्रमाणहरु दिएका छन् । 

सुष्माजीको निम्तोमा नवराजजी उनलाई लिन १९ जना मिलेर रुकुम गएको भनिएको छ । जेठको दोश्रो हप्ता सुष्माजीलाई दुलहीको रुपमा भित्र्याउने उत्कट चाहनाका साथ रुकुम ओर्लिएको युवा जमात्लाई रुकुमका करीब पाँच दर्जनजति मानिसले सुष्मालाई जाजरकोट पठाउन नामन्जुर मात्रै गरेनन्, आक्रमण नै गरे । थाहा भएअनुसार ढुंगामुढा प्रहार गर्दै कुट्ने र लखेट्ने गरे । मुख्य पात्र नवराजजी त मारिए नै, चारजना साथीहरु पनि मारिए । असफल प्रेमीको रुपमा नवराजजीले त संसार छाड्नु भो नै, उहाँलाई साथ दिएका साथीहरुको ज्यान समेत एकबारको जुनीमा केही गर्न नपाउँदै धर्तीबाट बिलायो । अन्याय भो । घोर अन्याय भो । 

नवराजजी र उनका साथीहरुको टोली डाँका थिएनन् । चोर र तस्कर पनि थिएनन् । यत्तिसम्म भन्न मिल्छ कि ती युवाहरुको समूह एक प्रकारको लहडी थियो उमेरकै कारणले । त्यो उमेर त्यस्तै हो । प्रेममा चुर्लुम्म डुबेपछि अरु कुरा सोच्न नभ्याउने । दिमागमा चौबिसै घण्टा प्रेमी भए प्रेमिकाको र प्रेमिका भएर प्रेमीको अनुहार आँखाभरि सजाएर बस्ने । चाँडोभन्दा चाँडो मिलनको चाहना राख्ने र त्यो चाहना पूरा गर्न जे गर्न पनि तयार हुने, जस्तो उपाय अपनाउन पनि उचालिने । बस्, योभन्दा अर्थोक थिएन । तिनलाई यो पनि थाहा नहुन सक्छ कि यतिबेला देश बन्दाबन्दीमा छ । एकदुईजना साथसाथ हिँड्न पनि दुरी कायम गरेर हिँड्नुपर्छ । तिनलाई त्यो पनि मेसो भएन । 

दोष तिनको छँदै थिएन, थियो त केवल उमेरको थियो, युवा उमेरको । प्रेमको गहिराइमा डुबेको मनमस्तिष्क एकोहोरो हुन्छ । यो अबस्थाको ठीक तरिकाले कसैले मूल्यांकन गर्न नसकेको देखियो । जाजरकोटदेखि हिँडेका युवाहरुलाई बाटोमा जनप्रतिनिधिहरुले देखेका थिए होलान् । किन र कता हिँडेको कसैले सोधेन किन ? प्रहरी थाना र चौकी पनि बाटातिर हुँदो हो । कुनै प्रहरीले समूहमा किन हिँडेको भन्ने प्रश्न किन सोधेनन् ? जाजरकोटतिरको कमजोरी त्यो देखियो भने रुकुम छिरेपछि पनि जनप्रतिनिधि वा प्रहरीहरुले देखेका थिए होलान् । यताको जिम्मेवार नागरिकहरुले समेत वास्ता नगरेको पाइयो । अब रुकुमको चौरजहारी पुगेपछि केटाहरु आएको थाहा भएपछि सुष्मा पक्षका अभिभावकहरुले कुनै पनि हालत्मा अल्लारे केटाहरु ठानेर सम्झाइबुझाइ पठाउनु पथ्र्यो तर कुनै अर्को देश वा दुश्मन देशबाट आएका मानिसको रुपमा ब्यबहार गर्दै लछारपछार र ढुंगामुढा गर्ने काम किन र कसरी गरे ? यो प्रश्न गम्भीर छ । 

पृथ्वीमा जन्मेका कुनै पनि मान्छे हत्याराका रुपमा चिनिन र जेल बस्न चाहँदैन । मान्छे मार्दा कानुन लाग्छ भन्ने कुरा भर्खर जन्मिएको बच्चाबाहेक अपवादलाई छाडेर सबैलाई थाहा हुन्छ । रुकुमका मान्छेलाई मान्छे मार्दा जेल जानु पर्छ भन्ने कुरा थाहा थिएन कसरी भन्ने ? हो, योजनाबद्ध तरिकाले मान्छे मार्नु र अकस्मात् रिसको झोंकमा मार्नुलाई कानुनले फरक ढंगले ब्याख्या गर्छ । यतिसम्म भन्न सकिन्छ कि रुकुमका जो जो नवराज र उनका साथीमाथि हमला गर्ने काममा सामेल भए तिनले यो बार, यति गते, यति मान्छे मिलेर यसरी हमला गर्ने योजना बनाएका थिएनन् तर कुनै पनि मान्छेलाई संवेदनशील अंगमा हातैले वा ढुंगाले वा अन्य हतियारले प्रहार गर्दा मान्छे मर्न सक्छ भन्ने कुराको चेत हराएको थियो कसरी भन्ने ? रिस उठ्यो वा आफूले भनेजस्तो भएन वा हुने सम्भावना भएन भन्दैमा अल्लारे ठिटाहरुको सानो समूहलाई लखेटीलखेटी आक्रमण गर्नु महाभूल होइन, महाअपराध हो । जो जो ती केटाहरुमाथि जाइलागे, तिनीहरु मुलुकी ऐनमा ब्यबस्था भएअनुसार कानुनी सजायको भागिदार हुनैपर्छ । 

मान्छे मार्न त कुरै नगरौं, कसैको अपमान गर्न र आँखा तरेर हेर्न पनि पाईदैन मानवअधिकारका दृष्टिले । रुकुममा त केही युवाहरुलाई नै मारियो । नमर्न पर्ने होनहार नेपाली युवाहरु मारिए । अपराध गर्नेले गरे । तिनलाई सजाय पक्कै हुन्छ । तर यस्तो अमानवीय घटनाबाट पनि अब नेपाली नागरिक समाजले पाठ सिक्नुपर्छ । अहिले यो नवराजविकजी लगायतका युवाहरु मारिएको र पिटिएको बिषयलाई जबर्जस्ती जातीय मुद्दामा मिसमास गर्ने प्रयास गरिएको देखिएको छ । यसो गर्न कदापी हुँदैन, कसैले पनि हुँदैन । कसैले जानाजान वा अन्जानमा कानुन विपरीत काम गर्छ भने सम्बन्धित व्यक्तिले नै सजाय, भोग्नुपर्छ अरुले होइन । नवराजजी र सुष्माजीको प्रेमले जातीय कुरालाई संकेत गरेको होइन, न त आक्रमणकारीहरुले आफ्ना जातका मान्छेसँग सरसल्लाह गरेर वा अनुमति लिएर त्यो खालको जघन्य अपराध गरेका हुन् । अपराध तिनले गरे, तिनैले सजाय पाउँछन् । तिनका अघिल्ला पूर्खाले वा अब जन्मिनेले वा अहिले नेपालमा भएका तिनका थर र गोत्रका मान्छेहरुले सजाय पाउने होइनन् । अब रिसको झोकमा पीडित पक्षले पीडकहरुको शाखा सन्तानलाई नै मुछ्ने किसिमले आरोप लगाउनचाहीँ सुहाउँदैन । 

साँचो र अर्थपूर्ण कुराचाहीँ के हो भने जातको आधारमा छुवाछुत वा भेदभाव गर्न पाइन्न । नेपालमा बनेको कानुनले नै यस्तो निर्णय गरेको छ । धेरै हदसम्म छुवाछुतको अन्त्य पनि भइसकेको छ । तर थिचोमिचो र अन्यायचाहीँ कायम छ । धनीले गरीबलाई मिलाइमिलाइ हेपेको छ । धनीले गरीबलाई काम लगाओस्, ज्याला देओस् तर नहेपोस् । कुरा यो हो । अब हेपाइकै कुरा गर्ने हो भने हिजोआज एक जातको मानिसले अर्को जातको मानिसलाई हेप्ने काम करीब करीब बन्दै भइसकेको छ । बरु सहजातीय पेलान कायम छ । अदालतमा एक बाहुनको मुद्दा अर्को बाहुनसँग चलिरहेको छ । क्षेत्रीको मुद्दा क्षेत्रीसँग, नेवारको नेवारसँग र दलित भनिएका हाम्रा दाजुभाइ दिदीबहिनीहरुको दलितसँगै अदालतमा मुद्दा चलिरहेको  देखिन्छ । यसको अर्थ जातीय थिचोमिचो होइन कि सहजातीय द्वन्द्वचाहीँ सतहमै आएको छ । अब अन्त्य त यसको गर्न जरुरी छ । 

हो, अझै पनि कुनै बाहुनले अर्को बाहुनले छोएको पानी निल्दैन । एक दलितले अर्को दलितले पानी छुने बित्तिकै नाक नेप्ट्याएको देखिन्छ । यसरी २१ औं शताब्दीको यो नवीन युगमा समेत आफ्नैलाई हेप्ने र दबाउने जुन काम भएको छ, यसको चाहीँ अन्त्य गर्ने हो । एक जातले अर्को जातलाई कुनै हानी नोक्सानी नपु¥याउने संस्कार विकसित भइरहेको अबस्थालाई अवरुद्ध गर्न हुन्न । जातीय सद्भाव वृद्धि हुँदैछ । अब कुनै जात ठूलो र कुनै सानो नभनौं । कानुनको पालना गरौं । जातभात भन्ने तल्लो चिन्तनलाई सधैंका लागि मेटाऔं । नवराज विकजी जस्तो प्रेमीमाथि आउने दिनमा कसैले अन्याय गर्ने आँट नगरोस् । मानव समाजलाई मिलेरै अघि बढाउनु पर्छ भन्ने चेत सबै नेपालीलाई जागोस् ।