नयाँ नक्सालाई समेट्न नेपालमा संविधान संशोधन विधेयक पेस भएपछि भारतमा हल्लीखल्ली मच्चियो

सफल खबर संवाददाता

आइतबार, १८ जेठ २०७७, १६ : १०
नयाँ नक्सालाई समेट्न नेपालमा संविधान संशोधन विधेयक पेस भएपछि भारतमा हल्लीखल्ली मच्चियो

काठमाडौं । नेपाल सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्सालाई आधिकारिकता दिन संविधान संशोधन विधेयक दर्ता गराएपछि भारतीय मिडियामा हल्लीखल्ली भएको छ ।

कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभागलाई समेटेर बनाएको नेपालको अद्यावधिक नक्सालाई संविधानको अनुसूचीमा समेट्नका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिममाया तुम्बाहाङ्फेले प्रतिनिधिसभा बैठकमा आज संविधान संशोधन विधेयक पेश गरेपछि भारतीय मिडियामा यो विषयले प्राथमिकता पाएको छ । विभिन्न मिडियाले आआफ्नै तरिकाले विश्लेषण गरेका छन् ।

आज तक’ले नेपाल–भारत सीमा विवाद थामिने संकेत नदेखिएको भन्दै नेपाल सरकारले संसदमा संविधान संशोधन प्रस्ताव पेस गरेको जनाएको छ । उसले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई ‘भारतको भूमि’ दावी गरेको छ । नेपाल सरकारद्वारा संसदमा पेश गरिएको संशोधन प्रस्तावमा ती भूभागलाई नेपालमा गाभेको संशोधित नक्सा नेपालको संविधानमा समेट्न खोजिएको उसको जिकिर छ ।

दैनिक भास्कर’को अनलाइन संस्करणमा पनि आइतबार प्रतिनिधिसभामा पेश गरिएको संविधान संशोधन प्रस्ताव नेपालको संघीय संसदको दुवै सदनमा सहजै पारित हुन सक्ने जनाइएको छ । सत्तारुढ दल नेकपा प्रतिनिधिसभामा दुई तिहाई नजिक रहेको र प्रमुख प्रतिपक्ष कांग्रेसले पनि समर्थन जनाइसकेका कारण संविधान संशोधन विधेयक सहजै पारित हुने सो अखबारले उल्लेख गरेको छ ।

भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’ले नेपाली कांग्रेसको समर्थनपछि ओली नेतृत्वको सरकारले संविधान संशोधन प्रस्ताव संसदमा पेश गरेको जनाएको छ । उसले नेपालको यो कदमले दुई देशबीचको सम्बन्ध अझ बिग्रनसक्ने विश्लेषण गरेको छ ।

भारतीय अखबार ‘अमर उजाला’ले आफ्नो अनलाइन संस्करणमा नेपाली कांग्रेसका कारण संसदमा पेश गर्न ढिलाइ भएको संविधान संशोधन विधेयक आइतबार कानुनमन्त्री तुम्बाहाङ्फेले पेश गरेको उल्लेख गरेको छ । शनिबार कांग्रेसले संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेसँगै आइतबार सरकारले संविधान संशोधन विधेयक पेश गरेको सो अखबारको भनाइ छ ।

एबीपी न्यूज’ ले नेपालद्वारा जारी नक्सालाई ‘विवादित’ संज्ञा दिँदै सो नक्सालाई लिएर संविधान संशोधन गर्न विधेयक पेश गरिएको जनाएको छ ।

यस्तै ‘नवभारत टाइम्स’ले पनि अनलाइन संस्करणमा नेपालसँगको सम्बन्धलाई अघि बढाउन भारतलाई चुनौती थपिएको उल्लेख गरेको छ । दुई देशबीचको सम्बन्ध बिग्रनुमा भारतको पनि भूमिका रहेको भन्दै सो अखबारको अनलाइन संस्करणमा लेखिएको छ, ‘सायद लिपुलेक सडकको उद्घाटन यति भब्य रुपमा नगरेको भए हुन्थ्यो भनेर पनि स्रोतहरुले भनेका छन्, सेना प्रमुखको बयानले पनि आगोमा घ्यु थप्ने काम गरेको छ ।’ नक्सा परिवर्तनमा नेपालले गरेको कोसिसले दुवै देशको सम्बन्धमा असहज हुने सो अखबारको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस