नेपालमा कोरोनाविरुद्ध खोप तयार भएको दाबी : परीक्षणको माग

रासस

आइतबार, १८ जेठ २०७७, १२ : ३६
नेपालमा कोरोनाविरुद्ध खोप तयार भएको दाबी : परीक्षणको माग

– सुरेश झा 
हेटौँडा । हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोना भाइरसविरुद्धको खोप तयार भएको जिकिर गरिएको छ ।  त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा डा ललितकुमार दासले  आफूले ६४ दिनको मेहनतपछि  सो खोप  तयार गरेको जिकिर गर्नुभएको छ  । वाग्मती प्रदेश केमिकल सोसाइटीका उपाध्यक्ष डा दासले यसअघि हर्बल सेनिटाइजर बनाइसक्नुभएको  छ  । 

सीमित स्रोतसाधन भए पनि अत्यन्त सूक्ष्मतापूर्व अध्ययनअनुसन्धानबाट  खोप पूर्णरुपमा तयार भएको  जिकिर गर्दै डा दासले यसलाई परीक्षण प्रक्रियामा  लगिने जानकारी दिनुभयो  । 
एक हप्ता अगाडि वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले उक्त प्रयोगशालाको निरीक्षण गर्दै खोप निर्माण हुनेबित्तिकै परीक्षण गराइने आश्वासन दिनुभएको थियो  ।   

वनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा बिएचडी  गर्नुभएका डा दासका अनुसार उक्त औषधि विभिन्न स्वास्थ्यबद्र्धक जडिबुटीबाट  निर्माण गरिएको हो ।  केही एन्टी अक्सिडेन्ट एक्टिभिटी र इञ्जिमेटिक एक्सन भएको वनस्पति  लिएर कोरोना भाइरसविरुद्धको खोप अनुसन्धान गरिएको  हो । 

‘कोरोना भ्याक्सिन’को गुणस्तर र प्रयोगका लागि  पहल गर्न सो कलेजका प्रमुख विजय यादवले सबैसँग आग्रह गर्नुभयो । कलेजका प्रा दामोदर गैरेले पनि डा दासले रोग नियन्त्रणमा कोरोनाविरुद्ध खोप सहयोगी हुने विचार व्यक्त गर्नुभयो  । यसको छिटो परीक्षण गर्नुपर्ने समेत उहाँको आग्रह  छ  ।  सङ्घीय सरकार एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप अनुसन्धानप्रति ध्यान दिनुपर्ने माग बुद्धिजीवी कृष्ण पाण्डेले गर्नुभयो । (रासस)