जोलाहनपूर्वाका सबै सङ्क्रमितले जिते कोरोना

रासस

शनिबार, १७ जेठ २०७७, २० : ४४
जोलाहनपूर्वाका सबै सङ्क्रमितले जिते कोरोना

काठमाडौं । नेपालगञ्जको कोरोना सङ्क्रमित टोलका रुपमा चिनिएको जोलाहनपूर्वाका सङ्क्रमित सबै जनाले कोरोनालाई पराजित गरेका छन् ।  
नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ स्थित यहाँका सङ्क्रमित सबै २४ जना कोरोना पराजित गरी घर फर्किएका छन् । बाँकेको खजुरास्थित  कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचार गराइरहेका ३६ वर्षीय एक पुरुषको दोस्रो रिपोर्ट आज नेगेटिभ आएसँगै जोलाहनपूर्वाका सबै जना निको भई घर फर्किएका छन् ।

यसअघि २३ जना निको भएर घर फर्किसकेका छन् । नेपालगञ्ज ७ का पहिलो सङ्क्रमितसहित नेपालगञ्जका २५ जनाले कोरोनामाथि जीत हासिल गरेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।  

एकैपटक ठूलो सङ्ख्यामा टोलवासीलाई कोरोना सङ्क्रमण हुँदा त्रसित हुन पुगेका जोलाहनपूर्वावासीमा सबै निको भएर घर फर्किँदा अहिले खुशीयाली  छाएको स्थानीय अगुवा समस्ुद्दिन सिद्दिकीले जानकारी दिनुभयो । यहाँ उपचारपछि निको भएर घर फर्किएका सङ्क्रमितको सङ्ख्या २८  पुगेको छ । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल दाङबाट शुक्रबार मात्रै तीन जना निको भई घर फर्किएका छन् ।  

नरैनापुरका आठ जनालाई उपचारका लागि दाङ पठाइएकोमा तीन युवा निको भई घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । त्यहाँ नरैनापुरका अन्य पाँच जनाको उपचार भइरहेको छ ।