भैरहवा क्षेत्रमा मदिरा निर्बाध आपूर्ति

रासस

शुक्रबार, १६ जेठ २०७७, २० : ४६
भैरहवा क्षेत्रमा मदिरा निर्बाध आपूर्ति

फाईल फोटो

लुम्बिनी । कोभिड –१९ को महामारी नियन्त्रणमा सरकारले गरेको बन्दाबन्दीका समयमा पनि रुपन्देही सदरमुकाम भैरहवामा मदिराको आपूर्ति निर्बाध रुपले भइरहेको छ । बन्दाबन्दीका समयमा अत्याश्यक खाद्य पदार्थ, औषधि, दुग्ध पदार्थ, तरकारीलगायत आपूर्ति सहज बनाउने सरकारको नीति रहेको छ । यसबाहेकका वस्तुको आपूर्तिमा सरकारले कडाइ गरेको छ ।

अझ मदिराजन्य पदार्थको आपूर्तिमा त झनै कडाइ गर्ने सरकारको नीति भए पनि रुपन्देही सदरमुकाम भैरहवा क्षेत्रमा भने निर्बाधरुपले  मदिराजन्य पदार्थ बोकेका सवारी साधन केही दिनदेखि  चलिरहेका छन् । 

ती सवारी साधनले क्रिस्टल डिस्टिलरी मधवयियाबाट उत्पादित विभिन्न ब्रान्डका मदिरा ओसारपसार गर्ने गरेका छन् । भैरहवा क्षेत्रमा अहिले लु १ क ११३४, लु १ क ९३८, लु १ क २४५३ नम्बरको मिनीट्रक, लु १ च ७४३३, लु १ च ३२१०, लु १ च १०७५ नम्बरको बोलेरो रातो नम्बर प्लेटको जीप, लु १ ज ४३३६ नम्बरको कालो प्लेटको जीप, लु २ च ७५८८ नम्बरको निजी कारले बन्दाबन्दी अवधिमा मदिराजन्य पदार्थ केही दिनदेखि नियमित रुपमा ओसारपसार गरेको पाइएको छ ।

 डिस्टिलरीका उत्पादित सामग्री ओसारपसारका लागि कुनै पनि डिस्टिलरीलाई प्रशासनको सवारी पास प्राप्त नभएको उत्पादक संघले बताएको छ । बन्दाबन्दीको समय भएकाले कुनै पनि सवारी साधनलाई सवारी पास प्राप्त नभएको मदिरा उत्पादक संघ रुपन्देहीका महासचिव राजु गुरुङले बताउनुभयो । उहांँले भन्नुभयो, “खै कसरी ओसारपसार भएको छ ? रुपन्देहीमा कसैलाई पनि सवारी पास प्राप्त भएको छैन । हामीले अनुमति लिन जाँदा दिइएन । अनुमति पास नहुँदा हामीले काम गरेका छैनाँैं ।”

ती सवारी साधन कुनैलाई पनि  सवारी पास नदिइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभयो । उहांँले भन्नुभयो, “मदिराजन्य पदार्थ ओसारपसारका लागि कसैलाई पनि अनुमति दिइएको छैन । यदि भएको छ भने त्यो गैरकानूनी हो । कानूनअनुसार कारबाही हुन्छ ।”

रुपन्देहीका मदिरा उत्पादक यही जेठ १२ गते सबै मिलेर सवारी पास अनुमतिका लागि जिल्ला प्रशासन कार्यालय गए तापनि कोरोना संकटको बेला मदिराजन्य पदार्थ ओसारपसारका लागि अनुमति दिन नमिल्ने प्रशासनबाट जानकारी पाएपछि  फर्किएका थिए । सोहीअनुसार अन्य उद्योगले काम गर्न पाएका छैनन् । मदिरा उद्यमीले प्रशासनको अनुमति नपाएपछि निकासाका लागि जम्मा गरेको रकमसमेत फिर्ता गरेका छन् ।

मदिरा उत्पाादकहरु सामूहिक रुपमा जाँदा अनुमति नदिइएपछि क्रिस्टल डिस्टिलरीले भने त्यसपछि चलखेल गरेर काम गरेको अन्य व्यवसायीले आरोप लगाएका छन् ।  प्रहरीलाई मदिराजन्य पदार्थ ओसारपसार गर्ने ढुवानीका सवारीलाई कडाइ गर्न प्रशासनले पहिलेदेखि नै निर्देशन दिएको छ ।  क्रिस्टल डिस्टिलरीले कानून विपरीत काम गर्दा पनि बेवास्ता गरिएको उद्यमीको गुनासो छ ।

रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले केहि दिनअघि सवारी साधनले मदिरा ओसारपसार गरेको  सूचना आएपछि जाँच गर्दा प्रहरीले खासै फेला नपारेको बताउनुभयो । मदिरा ओसारपसार पर्ने गाडीको नम्बरसमेत जानकारी गराउँदा रुपन्देही प्रहरी प्रवक्ता खत्रीले भन्नुभयो, “नम्बर कसरी आयो थाहा भएन तर लकडाउनका बेला कसैले पनि मदिरा ओसारपसार गर्न पाउने सम्भावना नै छैन । उक्त डिस्टिलरीका सञ्चालक फूलसिंह क्षेत्रीले भने आफूले कानूनअनुसार नै काम गरेको बताउनुभयो । उहांँले भन्नुभयो, “मैले सबै कानूनी प्रक्रिया पूरा गरेर काम गरेको छु ।”