क्यान्सरको उपचारका लागि आएका बिरामी र कुरुवाको बिचल्ली

बुधबार, १४ जेठ २०७७, १६ : १७
क्यान्सरको उपचारका लागि आएका बिरामी र कुरुवाको बिचल्ली

– नारायण अधिकारी

चितवन । चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र कुरुवाको अवस्था दयानीय बन्दै गएको छ । अस्पतालको कुरुवाघर भरिएको र स्थानीयस्तरमा रहेका होटल बन्द भएपछि खुला आकाशमा रात बिताउनुपर्ने बाध्यता उनीहरुको छ ।
 
अस्पतालको तथ्याङ्कअनुसार अस्पतालभन्दा बाहिर रहेका बिरामीको सङ्ख्या १०० हाराहारी रहेको छ । उनीहरुमध्ये अधिकांशले अस्पतालकै खाली चौरमा खाना पकाउने र बरण्डा, प्यासेजमा बिरामीसहित रातको समयमा ओत लाग्ने गरेका छन् । सिराहाबाट बिरामी बुबालाई लिएर उपचारका लागि वैशाख २२ गते क्यान्सर अस्पताल आइपुग्नुभएका सुरेशकुमार यादव त्यसयता खुला आकाशमुनि खाना खानु र बिरामीको रेखदेख गर्दै आउनुभएको छ । “न उपचार नै पाइएको छ । न त बस्न र खानका लागि कतै ठाउँ नै छ”, उहाँको गुनासो छ । 

“अस्पतालमा आएर उपचार गरेर घर फर्कने समय हुँदासम्म अस्पतालले भर्ना गर्न मानेको छैन”, उहाँले दुखेसो पोख्नुभयो । अस्पताल आएको केही दिन अस्पतालभित्रै रहेको चमेनागृहमा खाना खाएको भए पनि पछिल्लो समय त्यहाँ पनि खाना खानका लागि सहज वातावरण नबनेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अस्पतालमा उपचारका लागि भर्ना गरेका बिरामीलाई मात्र भवनमा पस्न दिइएको छ, अरुलाई बाहिर नै राखिएको छ ।” उहाँले थप्नुभयो, “बिरामी भर्ना गरेकालाई पास देखाएर भित्र जान दिइएको छ अन्य खुला आकाशमुनि बस्न बाध्य छाँै ।”

यस्तै सर्लाहीबाट मामाको उपचारका लागि आउनुभएका रमित कपाडले उपचारका लागि समय लाग्ने भए पनि गाँसबासको व्यवस्था गरिदिन आग्रह गर्नुभयो । चौरमा बसेर खाना खाँदै गर्नुभएका उहाँले बिरामीको भर्ना गर्नसमेत कठिन भएको बताउनुभयो । “फर्किऊँ अस्पताल आएर उपचार नगरी कसरी फर्किऊँ, बसौँ भने बस्ने र खाने ठाउँ छैन”, उहाँले भन्नुभयो । पानी पर्दा कहाँ बस्ने कहाँ के खाने झन् ठूलो समस्या हुने उहाँको भनाइ छ ।

पर्साबाट बिरामी श्रीमती लिएर उपचारका लागि आउनुभएका गौरीशङ्कर यादवले अस्पतालमा आएर झन् दुःख पाएको बताउनुभयो । अस्पतालले उपचारका लागि वैशाख ८ गते बोलाएको भए पनि आउँदा उपचार पाउन नसकेको उहाँको गुनसो छ । उहाँले भन्नुभयो, “उपचारका लागि समय लाग्ने भए पनि बस्न र खानका लागि आकाशको छानो बनाउनुपरेको छ ।” रातको समय पनि खुलाचौरमै बिरामी लिएर बस्नुपर्ने कस्तो समय आयो उहाँले दुखेसो गर्नुभयो । 

कञ्चनपुरबाट बिरामी लिएर आउनुभएका कान्छाराम चौधरीले विगत १० दिनदेखि चौरमै बास भएको बताउनुभयो । शुरुआतको समयमा अस्पतालको पेटिमा सुत्नसम्म पाइएको भए पनि अहिले त्यहाँ पनि जान दिँदैनन् उहाँले भन्नुभयो । चौधरीले भन्नुभयो, “बिरामीलाई उपचारका लागि आफूहरु आएको भए पनि न उपचार समयमा पाइएको छ न खान बस्ननै ।” फर्कनका लागि कसरी फर्कनु न सवारी साधन नै चलेका छन् उहाँले गुनासो पोख्नुभयो ।

लहानबाट बिरामी लिएर आउनुभएकी सङ्गीता चौधरी अस्पतालभित्र सञ्चालनमा रहेको चमेनागृहमा समेत हेर्ने दृष्टिकोण फरक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पैसा तिरेर खान्छौँ भन्दा पनि राम्रो व्यवहार छैन । अहिले त त्यहाँ अस्पतालका कर्मचारी र भर्ना गरेर राखिएका बिरामीलाई मात्र पस्न दिइने गरेको छ ।” बिरामीको उपचार प्रक्रिया शुरु भएमा मात्रै पनि कुरुवा जसरी पनि बस्न सकिन्थ्यो उहाँको गुनासो छ ।  अहिले दिनहुँजसो पानी पर्दा खुला आकाशमुनि खाना बनाउनसमेत उनीहरुलाई समस्या भएको छ ।
 
कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण देश नै आक्रान्त बनिरहेको समयमा उपचारका क्रममा आएका बिरामी र उनीहरुको कुरुवाको अवस्था दयानीय बन्दै गएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम आवश्यक हुनेलाई मात्र भर्ना लिइएको बताउनुभयो । अस्पतालमा आज  १३३ बिरामी भर्ना भएको र १०० हाराहारी बाहिर रहेको उहाँले बताउनुभयो । ५० बिरामी राख्न मिल्ने कुरुवा घर भरिएको र बाहिर होटल, रेष्टुरेन्ट बन्द भएपछि बिरामी र कुरुवाका आफन्त बाहिर खान र बस्न बाध्य भएको उहाँले बताउनुभयो । दैनिक अस्पतालमा देशका विभिन्न ठाउँबाट बिरामी लिएर ५० हाराहारी एम्बुलेन्स आउने गरेका छन् ।
 
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले त्यहाँ बिरामी र कुरुवाको अवस्था दयानीय  देखिएको बताउनुभयो । आफूले अस्पतालभित्र रहेका खाली भवन वा अस्थायी टहरा निर्माण गरेर भए पनि उनीहरुको व्यवस्थापन गर्न निर्देशन दिएको बताउनुभयो । ७६ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी बिरामीसँग एक जना आफन्त मात्र पठाउन अनुरोधसमेत गरेको भट्टराईले जानकारी दिनुभयो । सामान्यतया तीन साताको फरकमा क्यान्सरका बिरामीलाई केमो दिने गरिन्छ । टाढाबाट आएका बिरामी जान आउन कठिन भएकाले त्यही बाहिर बसेर कुर्ने गरेको पाइएको छ । यसैगरी केही विभागमा बहिरङ्ग सेवा नियमित नहुँदा र बिरामीको परीक्षणका नतिजा आउन ढिलाइ गर्दा पनि कुर्ने बिरामीको सङ्ख्या थपिएको हो ।
  
विसं २०५७ बाट सञ्चालनमा आएको यस अस्पतालमा नेपाल र भारतका सीमा जोडिएका क्षेत्रबाट उपचारका लागि बिरामी आउने गर्दछन् । यस अस्पतालले वार्षिक १० हजार हाराहारी बिरामीको उपचार गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस