कविता : मिस्त्रीको मृत्यु

सोमबार, १२ जेठ २०७७, ११ : ३८
कविता : मिस्त्रीको मृत्यु

साङ्केतिक फोटो

- विशाल नाल्बो

पाँच तल्ला माथिको

बिल्डिङको छतमा बेल्चाको डोरी तानिरहेको

उसको हात अचानक फुस्कियो

र झर्यो भूइँमा थुपारिएको इँटाको थाक माथि उसको शरीर

त्यो बेला उसले अन्तिम पटक

बेस्मारी हेर्यो पृथ्वीलाई र फेर्यो अलिकति सास।

मान्छेहरु अनदेखा गरिरहेका थिए उसलाई

थियो त गहिरो शोकपीडामा उसले चलाउने गरेको मार्तोल।

उसको वरिपरि थिए मलामीको नाउँमा

इँटाको चोइटा, हम्मरको हतासो

खिया लागेर आधा भएको बेल्चाको बिड।

छेउमा गरिरहेका थिए

कामदारलाई जस्तो दुर्ब्यबहार

उसको लासलाई पनि उसको मालिक।

उसको मृत्युभन्दा ठूलो

हानीनोक्सानीको सुर्ता थियो उसको मालिकलाई।

उसले चलाउँदा चलाउँदै छोडी राखेको

आधाबोरा सिमेन्ट

इँटा जोड्दा हातको सुरक्षाको निम्ति लगाउने

उसको एक जोर पञ्जा

पसिना बेचेर उसले

दुइसौं पँचासमा किनेको पुरानो गम्बुट्

र सधै गाउँको सम्झना बोकी ल्याउने

उसको साधा मोबाइलफोन।

उसको मृत्युशोकमा अलापबिलाप गरिरहेका थिएँ।

आधा बिल्डिङको पोस बुनेर छोडेको रिङसुल

आधा बुन्न बाँकी रडको टुक्रा।

प्लासटर गर्नलाई छोडी राखेको रुसा कर्नी

र चौकटको लागि सोज्याउदै गरेको काटी मार्तोल।

सबका सब अचम्मित थिए उसको मृत्युमा।

तर उसको मालिक सोधि रहे थ्यो

कल्ले गर्छ मेरो नोक्सानीको पुर्ती ?

कल्ले गर्छ येल्ले आधाकल्चो छोडेको काम ?

गुमान गरी गरी बलिरहेको थियो आगो

आगै माथि थियो उसको लास भैसकेको शरीर।

युगौ हिडेर जीवनदेखि

कहिले नथाकेको उसको पहिला खुट्टा जल्यो

त्यसपछि जल्यो दुःखको

पाहाडै उचाल्न सक्ने उसको हात

र जल्यो अभागी नाउको टाउको

तर कस्सै कस्सै कस्सै गरी जल्न मानेन उसको छाती

जहाँ उसको अदृश्य रहरहरुले बनाएको थियो सिंगो एउटा ब्रह्माण्ड।

कुनै मिस्त्रीको मृत्यु यति सस्तो किन हुन्छ ?

प्रतिक्रिया दिनुहोस