अभिनेत्री वर्षा राउतले माफी माग्दै भनिन्– मलाई नेपाली हुनुमा गर्व छ

सफल खबर संवाददाता

आइतबार, ११ जेठ २०७७, १२ : ५७
अभिनेत्री वर्षा राउतले माफी माग्दै भनिन्– मलाई नेपाली हुनुमा गर्व छ

काठमाडौं । अभिनेत्री वर्षा राउतले नेपाल–भारत सीमा विवादको विषयमा व्यक्त गरेको अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि माफी मागेकी छिन् । 

अभिनेत्री राउतले सामाजिक सञ्जालमा उनले नेपाल–भारत सीमाको विषयमा अनावश्यक विवाद सिर्जना गरेको भन्दै एउटा भिडियो क्लीप सार्वजनिक गरेकी थिइन् । उनले सार्वजनिक गरेको भिडियोमा भारत र नेपालका पत्रकारहरु मिलेर दुई देशबीचमा फाटो ल्याउने काम गरिरहेको विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । 

उनको यो अभिव्यक्ति शनिबारदेखि सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । चौतर्फी रुपमा उनको आलोचना भएपछि उनले सामाजिक सञ्जालमार्फत क्षमायाचना गर्दै लेखेकी छिन्, ‘कलाकार हुँ, त्यसमाथि अलि भावुक स्वभावकी छु । त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु । तर, हिजो एउटा अन्तरवार्तालाई लिएर जुन हो–हल्ला गरियो, त्यसले मलाई भावनात्मक ठेस पुगेको छ । हो, प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथि–तल परेकी छैन ।’

उनले आफ्नो मातृभूमिप्रतिको माया प्रगााढ रहेको भन्दै देश र राष्ट्रियतासँग पहिचान जोडिएको बताउँदै अगाडि लेखेकी छिन्, ‘संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र ? त्यसमाथि “नेपाली कलाकार” भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको हुन्छ । आफ्नो परिचयलाई नै अङ्गिकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ ।’

उनले नेपालले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सा समर्थनमा अग्रपंक्तिमा उभिन समेत तयार रहेको बताएकी छिन् । 

उनले यसै सन्दर्भलाई जोड्दै एक व्यक्तिले मात्रै पहल गरेर नेपाल र भारतको सीमा विवाद नटुङ्गिने बताउँदै वार्ताका लागि उचित वातावरण मिलाउनुपर्ने समेत जिकिर गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस