देवघाट-ठिमुरा जोड्ने पुल निमार्णले लियो गति

फागुन सम्म निर्माणको काम सक्नु पर्ने

प्रकाश सिग्देल

आइतबार, ११ जेठ २०७७, ०७ : ५८
देवघाट-ठिमुरा जोड्ने पुल निमार्णले लियो गति

file photo

चितवन । निमार्ण सम्झौता भएको ७ वर्ष बितिसक्दा पनि  ठिमुरा देवघाट जोड्ने पुल  निमार्ण कार्य जम्मा ६५ प्रतिशत सम्पन्न भएको छ ।  डिभिजन सडक कार्यालय भरतपुरले त्रिशूली नदीमा देवघाट–ठिमुरा पुल निर्माण गर्न  २०७० साल कार्तीक २० गते  १६ करोड ५३ लाख २४ हजारमा १९ कात्तिक ०७४ मा सक्नेगरी ठेक्का सम्झौता गरेको थियो ।  पछि नक्साङ्कन संशोधन (डिजाइन रिभ्यू) पछि लागत बढेर रु २१ करोड ६८ लाख पुगेको थियो ।

पुल शिलान्यासको ४ वर्षमा काम सम्पन्न गर्नुपर्नेमा विभिन्न कारण देखाउँदै ठेकेदारले पटक पटक समय थप गरेको हो । पुल निर्माणको समयावधि सकिएको झण्डै ३ वर्ष बितिसक्दा पनि जम्मा ६५ प्रतिशत मात्र काम भएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीले सडक निमार्णको काम ६५ प्रतिशत सकिएको र अहिले निमार्ण कार्य धमाधम भईरहेकाले निर्धारित मितिमा सकिने बिश्वास ब्यक्त गर्नु भयो ।

आउने फागुन सम्म म्याद थपिएकोले त्यो मितिमा पुल निमार्ण सक्ने गरी ठेकेदारले काम गरिरहेको उहाँले बताउनुभयो । शक्रबार स्पान ढलान भएको र अब केही दिनमा स्यालेव  ढलान सम्पन्न हुनेछ । इलाइट एड्भेन्जर र इन्द्रेणी जेभी मिलेर संयुक्तरूपमा पुल निर्माणको जिम्मेवारी लिएका हुन् ।  पुल निमार्णमा ढिलाई भएपछि  महालेखा परीक्षकको कार्यालयले देवघाटनजिक त्रिशूली नदीमा निर्माणाधीन पुलमा त्रुटि देखाएको थियो ।  निधारित  समयमा काम नसकेको, पटक–पटक डिजाइन फेरेको, काम ढिलो हुँदा लागत रकम बढेको महालेखाले जनाएको थियो ।

महालेखाको प्रतिवेदनअनुसार पुलको एप्रोच सडकसम्म छैन र एबुटमेन्टसमेत कटान हुने खतरामा छ । महालेखा परीक्षकको कार्यालयले अधुरो काम तत्काल सक्न सडक कार्यालय निर्देशन दिएको थियो भने  समयमा काम नसक्ने निर्माण व्यवसायीलाई कारबाही गर्न पनि जोड दिएको थियो ।  सडक कार्यालयले भने निर्माण सुरु हुनुअघिकोे डिजाइन परिवर्तन गरी फरक तरिकाले काम गर्नुपरेकोले पनि ढिला भएको जनाउदै आएको छ ।  सडकको डिजाइन फेरिँदा सरकारलाई दुई करोड २८ लाख थप भार परेको छ । निर्माण व्यवसायीले भने स्पष्ट कारणविनै पटक–पटक म्याद थप गर्दै आएका हुन् । 

ठिमुरा र देवघाटलाई जोड्ने पुललाई विशेष पुलका रूपमा लिइएको छ । देवघाट क्षेत्रबिकास समितिका निर्वतमान अध्यक्ष तथा ठिमुरा–देवघाट पक्की पुल निर्माण उपभोक्ता समितिका उपाध्यक्ष टङ्कनाथ पौडेलको बिशेष पहलमा पुल निमार्णको थालनि भएको थियो ।  पर्याप्त बजेट र प्राविधिक कठिनाइका कारण समयमा पुल बन्न नसकेको ठिमुरा–देवघाट पक्की पुल निर्माण उपभोक्ता समितिका उपाध्यक्ष टङ्कनाथ पौडेलले  बताउनु भयो ।

सम्बन्धित निकायलाई घचघच्याउदा अहिले कामले गति लिएको र पुलको दुई पिलर बिचको दुई साईडको बिम स्पान ढलान गरिएको पौडेलले बताउनु भयो । पुलमा चितवन तर्फका दुई पिल्लरको बिचको दुवै तर्फ ४०÷४०  मिटर लम्बाईको स्पान अर्थात दुई साईडको बिम ढलान  भएको बताउदै उहाले अव निधार्रीत मितिमा काम सकिने बताउनु भयो । ४ वटा पिलर रहेको सो पुल  २४० मिटर लामो बन्ने बताईएको छ ।