कोरोना भाइरसको नियन्त्रणमा लामो समय लाग्ने संकेत : डब्लुएचओ

एजेन्सी

विहीबार, ०८ जेठ २०७७, ०९ : २४
कोरोना भाइरसको नियन्त्रणमा लामो समय लाग्ने संकेत : डब्लुएचओ

एजेन्सी । विश्वभरि फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लामो समय लाग्न सक्ने  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।  डब्लुएचओका अनुसार विश्वमा बितको २४ घंटामा बुधबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको छ । २४ घण्टामा विश्वका १ लाख ६ हजार भन्दा बढी व्यक्तिमा कोरोना देखिएको हो ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको महामारी अन्त्य हुन धेरै समय लाग्ने चेतावनी दिए । उनले भनेका छन्–‘कोरोना भाइरसको नियन्त्रण हुन गति सुस्त हुने संकेत देखिएन । उनले पछिल्ला दिनमा कम तथा मध्यम आय भएका देशहरुमा संक्रमण बढ्दै गएकोमा विशेष चासो व्यक्त गरेका छन् । विश्वभर संक्रमितको संख्या ५० लाख पुग्दा डब्लुएचओ प्रमुखको चेतावनी आएको हो । बितेकोदुई हप्तामै झण्डै १० लाख संक्रमित थपिएका छन्।

विज्ञहरुले विश्वमा संक्रमितको वास्तविक संख्या अहिले बाहिर आएको भन्दा धेरै हुन सक्ने बताएका छन् । धेरै देशमा पर्याप्त परीक्षण नभएकाले संक्रमण पुष्टि हुन नसकेको अवस्था रहेको स्वास्थ्य विज्ञको भनाई छ । कोरोना भाइरसका कारण हालसम्म विश्वभर तीन लाख २७ हजार भन्दा बढीको मृत्यु भएको छ। बुधबारको पत्रकार सम्मेलनमा डा. टेडरोजले भने,– ‘पछिल्लो २४ घण्टामा डब्लुएचओलाई रिपोर्ट भएका केसको संख्या एक लाख ६ हजार भएको, यो एकै दिन थपिएका संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो ।’

उनले भने, ‘झण्डै दुई तिहाई केसहरु मात्रै चार देशका हुन् ।’ अमेरिकासहितका देशले लकडाउन खुकुलो बनाउन लागेका बेला डा. टेडरोजको चेतावनी आएको हो । डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोस  कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म १५ लाख ५० हजार भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । यस्तै त्यहाँ ९३ हजार चार सय भन्दा बढीको ज्यान गएको छ ।रुसमा संक्रमितको संख्या ३  लाख ८ हजार तथा ब्राजिलमा २ लाख ९१ हजार भन्दा बढी पुगेको छ । बेलायतमा ३५ हजार ७ सय ८६, इटालीमा ३२ हजार ३ सय ३०, फ्रान्समा २८ हजार १ सय ३५ तथा स्पेनमा २७ हजार ८ सय ८८ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस