आज दिनभरिको मौसम कस्तो रहला ? अम्पुनको आँधीको अप्रत्यक्ष प्रभाव

सफल खबर संवाददाता

विहीबार, ०८ जेठ २०७७, ०८ : १७
आज दिनभरिको मौसम कस्तो रहला ? अम्पुनको आँधीको अप्रत्यक्ष प्रभाव

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अम्पुन आँधीको अप्रत्यक्ष प्रभावका कारण नेपालको पूर्व र मध्य क्षेत्रको मौसम प्रभावित हुने जनाएको छ । 

बंगालको खाडीमा बनेको अम्पुन चक्रवात जमिनमा प्रवेश गरिसकेकाले अहिले कमजोर हुने क्रममा रहेको  मौसमविदको भनाई छ । अम्पुनसँगै स्थानीय वायुको प्रभावका कारण पनि देशका अधिकांश क्षेत्रको मौसम बदली भएको छ। अहिले देशको पूर्वी र मध्य भू–भागमा पूर्ण बदली रही पश्चिमाका आंशिक बदली रहेको मौसमविदले बताएका छन् ।

पूर्व र मध्यका थोरै स्थानमा वर्षा भइरहेको छ । बिहीबार दिउँसो देशको पूर्वी भू–भागमा पूर्ण बदली र मध्य क्षेत्रमा सामान्य बदली रहने छ । यस्तै बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने जनाइएको छ । पूर्वका केही र पश्चिम तथा मध्य क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पूर्वको उच्च हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत संभावना रहेको मौसमविदले बताएका छन् ।

राति देशको पूर्वी भू–भागमा पूर्ण बदली रही बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने जनाइएको छ । पूर्वका केही स्थान र मध्य क्षेत्रका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।