नेपालको नयाँ नक्सा सार्वजनिक

पत्रपत्रिकाबाट

विहीबार, ०८ जेठ २०७७, ०६ : ३९
नेपालको नयाँ नक्सा सार्वजनिक

काठमाडौँ । नेपाल सरकारले नेपालको अद्यावधिक राजनीतिक, प्रशासनिक संस्करणको नयाँ नक्सा बुधबार सार्वजनिक गरेको छ । नक्सामा लिम्पियाधुरासहित काली नदीपूर्वका गुन्जी, नाभी, कुटी लगायतका केही भूभाग समेटिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बुधबार मन्त्रालयमा नक्सा सार्वजनिक गर्नुहुँदै राष्ट्रको सार्वभौमसत्ता र अखण्डता अक्षुण्ण राख्न देशको अन्तर्राष्ट्रिय सिमानाको स्पष्ट अभिलेख महìवपूर्ण हुने बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, “सन् १८१६ मार्च ४ मा तत्कालीन इस्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धिअनुसार काली नदी र सोभन्दा पूर्वको भूभाग नेपाल राज्यको अभिन्न अङ्ग हो । ” उहाँले भन्नुभयो, “काली नदीपूर्वका गुन्जी, नाभी, कुटी लगायतका केही भूभाग समेटेर काली नदीको उद्गमस्थल लिम्पियाधुरासम्म नक्सामा देखिने गरी नेपालको अद्यावधिक प्रशासनिक नक्सा तयार पारिएको हो ।

”उहाँले छिमेकी मित्रराष्ट्र भारत सरकारसँग द्विपक्षीय वार्ता र कूूटनीतिक प्रयासमार्फत सीमा समस्याको समाधान गर्न प्रतिबद्ध रहेकोसमेत स्पष्ट पार्नुभयो । सीमाका विषयमा सिङ्गो राष्ट्र एकढिक्का भएको चर्चा गर्दै मन्त्री अर्यालले भन्नुभयो, “यो ऐतिहासिक घडीमा दृढ सङ्कल्प, अटल आत्मविश्वास र यथेष्ट प्रमाणहरूका आधारमा यसअघि नक्सामा छुटाइएका भूभाग समेटेर अद्यावधिक नक्सा सार्वजनिक गर्ने बिन्दुमा आइपुगेका हौँ । ”

उहाँले सीमा सुरक्षाप्रति नेपाली जनताले देखाएको चासो र दिएको साथप्रति आभार व्यक्त गर्दै नेपाल र नेपालीका लागि यो ऐतिहासिक सुखद क्षण भएको बताउनुभयो । मन्त्री अर्यालले राष्ट्रियता र सम्प्रभुताको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको चर्चा गर्दै भन्नुभयो, “नेपाली जनताको यही मर्म र भावनाको जगमा उभिएर ऐतिहासिक तथ्य र प्रमाणले देखाएको सत्यको पथमा समर्पण भावनासाथ अघि बढ्ने प्रेरणा मिलेको हो । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस