अमेरिकामा साइकलको उच्च माग, लकडाउन भएपछि साइकल चढ्न थाले अमेरिकिनहरु

एजेन्सी

बुधबार, ०७ जेठ २०७७, १५ : ३१
अमेरिकामा साइकलको उच्च माग, लकडाउन भएपछि साइकल चढ्न थाले अमेरिकिनहरु

वासिङटन । कोरोना भाइरसका कारण पुरै दुनियाँ लगभग दुई महिनासम्म घरभित्रै सिमित रह्यो । जिन्दगी जब ट्रयाकमा फर्कने कोसिस गर्दैछ, तब संसार बदलिएको छ ।

अमेरिकामा सार्वजनिक सवारीको प्रयोग कम गर्न मानिसहरु अब साइकलतर्फ आकर्षित भएका छन् ।  

उनीहरुको चिन्ता आफैंलाई फिट राख्नु त हो नै, भीडभाडबाट बच्न र खासगरी आफैंलाई संक्रमणबाट जोगाउन हो । दुई महिना पहिले जुन पसलमा धुलो लागेको अवस्था साइकल थिए, अहिले ती ठाउँमा साइकल देखिदैंनन् । अत्यधिक बिक्रीपछि देशमा साइकलको कमी भएको छ र ग्राहकहरुले लामो प्रतिक्षा गर्नुपरेको छ । 

न्युर्योक शहरस्थित ब्रुकलिनमा साइकलको बिक्री ६ सय प्रतिशतले बढेको छ । धेरैजसो पसलले पहिलेभन्दा तीन गुणा बढी साइकल बेचिसकेका छन् र ग्राहकको लामो वेटिङ लिस्ट पनि छ । 

फिनिक्स, सियटलमा बिक्री तीन गुणा बढी छ । वासिङटन डिसीका एक रिटेलर भन्छन् – ‘अप्रिलमै स्टोरका सबै साइकल बिक्री भइसकेको थियो ।’

मार्केट रिसर्च फर्म एनपिडी ग्रुपका अनुसार मार्चमा साइकलको बिक्री त धेरै छ नै, मर्मत र उपकरणको बिक्री पनि दुईगुणाले बढेको छ । 

फिटनेस बाइकको बिक्री ६६ प्रतिशत, लेजर बाइक्सको बिक्री १ सय २१ प्रतिशत, इलेक्ट्रिक बाइक्सको बिक्री ८५ प्रतिशत र बच्चाको साइकलको बिक्री ५९ प्रतिशतसम्म बढेको छ । 

कोरोनाका कारण ग्लोबल सप्लाई चेनमा पनि असर परेको छ । यस्तोमा डिमान्ड बढेको छ र साइकलको कमी छ ।

यी स्थानमा साइकल यात्रा सहज
अमेरिकाका कतिपय राज्यमा केही स्थानमा कारका लागि बाटो बन्द छ । केवल पैदलयात्री र साइकललाई मात्रै हिंड्न अनुमति दिइएको छ । न्युर्योकको ३ सय २२ किलोमिटर सडकमा केवल पैदलयात्री र साइकलयात्री मात्रै हिंड्न पाउँछन् । 

ओकल्यान्डको १० प्रतिशत बाटोमा साइकलयात्री मात्रै जानसक्छन् । सियटलमा ३३ किलोमिटर बाटो पैदलयात्री वा साइकल यात्रीका लागि रिजर्भ छ । न्युर्योक र सियटलमा यस्तो फैसला सधैंका लागि लागु हुनसक्छ ।

युरोपमा पनि बिक्री बढ्दो 
बेलायत र फ्रान्समा पनि साइकलको बिक्री बढ्दैछ । जानकारहरुका अनुसार धेरै दशकपछि पहिलोपटक कारको प्रभुत्वलाई साइकलले चुनौती दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस