कोरोना भाइरस जोखिमले अन्य बिरामी रोग पाल्न बाध्य

सुजन अधिकारी

मंगलबार, ०६ जेठ २०७७, ०७ : ५६
कोरोना भाइरस जोखिमले अन्य बिरामी रोग पाल्न बाध्य

काठमाडौं । कोभिड–१९ को जोखिम बढेसँगै अन्य प्रकृतिका बिरामी रोग पालेर बस्न बाध्य भएका छन् । गम्भीर प्रकृतिका रोग लागेका बिरामीका लागि अस्पतालको आकस्मिक सेवा खुले पनि उपचार नपाउँदा रोग पालेर बस्न बाध्य हुनु परेको छ । सरकारले ओपीडी सेवा बन्द नगर्न पत्राचार गरे पनि अहिले अधिकांश अस्पतालका ओपीडी सेवा बन्द छन् । निजी अस्पतालले सहज तरिकाले सेवा दिएका छैनन् ।

कोभिड–१९ संक्रमणको जोखिम बढ्नुअघि सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालमा दैनिक १ हजार बढी बिरामी आउँथे । त्रिवि शिक्षण अस्पतालमा दैनिक १ हजार २ सय बढी बिरामी उपचारका लागि आउने गरेका थिए । तर, हाल त्रिवि शिक्षण अस्पतालमै संक्रमण पुष्टि भएपछि अस्पतालमा स्वास्थ्य सेवा आंशिक रूपमा प्रभावित भएको छ ।

यस्तै, जिल्लाका अधिकांश सरकारी तथा निजी अस्पतालले सेवाप्रवाह नगरेको बिरामीबाट गुनासो आउन थालेको छ । सरकारले सबै अस्पतालको सेवा बन्द नगर्न आग्रह गर्दै आए पनि कार्यान्वयनमा आउन सकेको छैन । जसकारण, बिरामी घरमै रोग पालेर बस्न विवश छन् । सरकारले बिरामीका लागि ठोस कार्ययोजना बनाउन सकेको छैन ।

काठमाडौं उपत्यकाका ठूला अस्पताल र जिल्लामा रहेका अस्पतालले स्वास्थ्य सेवा सहज ढंगले प्रवाह नगरेको पाइएको छ । बिरामीलाई अस्पतालसम्म पुग्नै समस्या छ भने अस्पताल पुगे पनि सेवा सजिलैसँग पाउन नसकेको गुनासो गर्न थालेका छन् । राजधानी दैनिकमा खबर छ ।