कविता : पेड्डर रोडको आकाशेपुल

आइतबार, ०४ जेठ २०७७, ११ : ५५
कविता : पेड्डर रोडको आकाशेपुल

- विनिता अग्रवाल

यहीँ नै थियो
यस सानदार आकाशे पुलमुनि
पापले भरिएको बाकसझैँ यसका रहस्यहरू विस्फोट हुँदा  
मैले जीवनको बारेमा सिकेको । 
मैले बुइँगल र चमकदार फ्ल्याटबाट अस्तित्वले रुप फेरेको देखेँ   
फोहोर टिप्नेहरुका भित्ताहीन घरहरूमा ।
सल्वाडोर डालीको पेन्टिङ्गजस्तो, तर हुन्थेन रङ्गहरूको सिर्जना 
यहाँको रङ्ग खैरो थियो, जुन बच्चाहरूको कपालमा हुन्थ्यो
लोग्ने मान्छेहरूको चाहनामा, महिलाहरूको गर्भभित्र
गरीब जन्मिएकालाई छुट्टयाउने रेखाहरूको बीचमा 
र, बिहानको मधुरो प्रकाशमा 
त्यो कसैगरी सधैं घामसित उडी जान्थ्यो ।
आइमाइहरू ब्लाउज र पेटीकोट लगाएर बस्थे
गलैँचाझैँ फैलिएको साडीमाथि 
कपाल कोर्थे, जुम्रा टिप्थे, बिंडी पिउँथे, सुपारीदाना चपाउँथे
जो प्रकट हुन्थ्यो मुखहरूलाई सुन्न पार्दै क्यान्सरको हलका झटकामा ।
उनीहरू दिनमा एकपटक काठको आगो बल्ने 
माटोको अगेनामा आल्यूमिनियमको भाँडोमा पकाउँथे 
पाकिसकेपछि, चामलमा डरलाग्दो गरी पानी थप्थे 
केही समयको लागि, पानीले पेट भारी बनाउँथ्यो
यहाँवहाँ अन्ततोगत्वा केही थिएनन्
नाङ्गा, किराले टोकेका शिशुहरू डल्लो परेका देखिन्थे 
सधैँ दूध मागिरहन्थे, भोकले पहेंलिएको उनीहरूको अनुहार  
उनीहरूले कहिल्यै थाह पाउँदैनन् ।
गजबसित 
उनीहरू यहाँ बस्थे सम्पन्नहरूको छायाँमुनि
यो सडकमाथि जसको नामकरण डब्लू जी पेड्डरबाट भएको थियो
तर जसरी पनि परिवारहरू अझै यहाँ फोहोर टिप्थे   
दुर्गन्धित डुलिरहन्थे, मृत्युको काम गर्थे
उनीहरू जीवित थिए किनभने हैजा मरिसकेको थियो ।
यदि तपाइँं बिहानको समयमा बाहिर आउनुभयो भनें
अँध्यारोमा उनीहरूको गहिरो आवाज सुन्नहुने छ 
किनभने, आखिरमा बिहानको तीनबजेतिर ट्राफिक  कम हुन्छ 
केही घण्टाको निँद्रा पक्कै राम्रो अनुभूति हो   
गल्लीतिरका वफादार कुकुरहरूले उनीहरूको छेउमा 
कुत्रुक्क पर्दै न्यानो बनाइदिएको हुन्छ ।

(अनुवाद : चन्द्र गुरुङ)

प्रतिक्रिया दिनुहोस