सीमामा अलपत्र नेपालीको तत्कालै उद्धार गरिने

रासस

शनिबार, ०३ जेठ २०७७, २० : २०
सीमामा अलपत्र नेपालीको तत्कालै उद्धार गरिने

फाईल फोटो

काठमाडौं । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले भारतीय सीमा क्षेत्रमा अलपत्र अवस्थामा रहेका नेपालीलाई तत्काल उद्धार गरेर ल्याइने बताउनुभएको छ । 

उहाँले आज झापा जिल्ला कोरोना रोकथाम समितिको बैठकमा उद्धार गरेर ल्याएपछि राख्ने होल्डिङ सेन्टर र क्वारेन्टाइनको व्यवस्था गर्न स्थानीय सरकारलाई निर्देशन दिनुभएको छ । झापाका काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज, टाघनडुब्बा र कचनकबल नाकाबाट आगामी एक दुई दिनभित्रै एक हजार नेपालीलाई उद्धार गरेर सुरक्षितरुपमा नेपाल ल्याइने र क्रमशः यो सङ्ख्या बढेर २० हजारसम्म पुग्नसक्ने मन्त्री कार्कीले बताउनुभयो । 

उहाँले नेपाल सरकार र भारत सरकारबीच यस विषयमा छलफल भइरहेको बताउँदै सीमा क्षेत्रमा रहेका आआफ्ना नागरिकलाई ल्याउने र लैजाने काम चाँडै हुने जानकारी गराउनुभयो । “गृहमन्त्रालय, पराराष्ट्र मन्त्रालय र प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराइसकेका छौँ”, उहाँले भन्नुभयो, “ल्याइएका नागरिकलाई होल्डिङ क्षेत्रमा राखेर स्वास्थ्य परीक्षण गरिने र अन्य प्रदेशका भए सोको राजधानीसम्म पु¥याउने काम प्रदेश सरकारले गर्नेछ ।” 

जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले काँकरभिट्टा नाकाबाट ल्याइने नेपालीलाई राख्नका लागि काँकरभिट्टा माध्यमिक विद्यालयमा तथा भद्रपुर र कचनकबलबाट आउनेलाई मेची बहुमुखी क्याम्पसमा होल्डिङ सेन्टर निर्माण गरिएको जानकारी दिनुभयो । जिसस प्रमुख पोर्तेलले प्रदेश नं १ का उद्धार गरिएका नेपालीलाई जिल्ला सदरमुकामसम्म र अन्य प्रदेशका हकमा प्रदेशको राजधानीसम्म पु¥याउने व्यवस्था मिलाइने निर्णय भएको बताउनुभयो ।

भारतमा रेल यातायात सञ्चालनमा आएपछि अलपत्र नेपाली ८५३ जनाले झापाको सीमा नजिक आएर नाम टिपाइसकेका र त्यो सङ्ख्या बढिरहेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताउनुभयो । उहाँका अनुसार सङ्कलित नाममध्ये ३२३ जना कर्णाली प्रदेशका, एक जना झापाका र अरु अन्य जिल्लाका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस