अपाङ्गता भएकी एक बालिका बलात्कृत

सफल खबर संवाददाता

शनिबार, ०३ जेठ २०७७, १६ : ३८
अपाङ्गता भएकी एक बालिका बलात्कृत

सप्तरी । जन्मजात बोल्न नसक्ने अपाङ्गता भएकी एक बालिका बलात्कारको आरोपमा यहाँको अग्निसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशाराम राम पक्राउ परेका छन् । आरोपितलाई गाउँलेले घटनास्थलबाटै नियन्त्रणमा लिई प्रहरी चौकी पकरीलाई बुझाएको सप्तरी प्रहरीले जनाएको छ ।

गाईबस्तु चराउन गएकी अपाङ्ता भएकी १२ वर्षीया बालिकालाई झाडीमा बलात्कार गरेको देखेपछि एक गाउँलेले अन्य गाउँलेलाई बोलाएर नियन्त्रणमा लिएका हुन् । पीडितको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा बिहीबार स्वास्थ्य परीक्षण र उपचार भएको छ । पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । आरोपितले बलात्कार गरेको स्वीकारेका छन् । प्रहरी चौकी पकरीले थप कारवाहीका लागि आरोपितलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको छ ।

लकडाउनको अवधिमा यसअघि १२ र १६ वर्षीया बालिकालाई बलात्कार गरेका छुट्टाछुट्टै घटनाका दुई आरोपित घटनास्थलबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सप्तरीको तथ्याङ्कमा उल्लेख छ । घरमा सुतिरहेकी १६ वर्षीया बालिकालाई वैशाख २१ गते राति बलात्कार गरेको आरोपमा राजगढ गाउँपालिका–४ बेल्ही चपेना छातापुर टोलका २५ वर्षीय शम्भुकुमार राम घटनास्थलबाटै पक्राउ परेका थिए । घटनास्थलबाटै पक्राउ परेका आरोपितलाई गाउँलेले नियन्त्रणमा लिई कुटपिट गरेर सुरक्षा बेस क्याम्प पत्थरगाढाको जिम्मा लगाएका थिए ।

यसैगरी १२ वर्षीया बालिकालाई वैशाख ३ गते राति बलात्कार गरेको आरोपमा राजगढ गाउँपालिका–२ कमलपुरका २० वर्षीय रामजीवन यादव पक्राउ परेका थिए । उनी हालै जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि राजविराज कारगारमा थुनामा परेका छन् । पिसाब फेर्न राति घर बाहिर निस्किएका बेला आरोपितले जबर्जस्ती नियन्त्रणमा लिई नजिकैको चौरमा लगी बलात्कार गरेको पीडितले बताएकी थिइन् । 

लकडाउनका बेला उत्पन्न सुनसान अवस्थाको मौका छोपेर बलात्कारका घटना हुने गरेको प्रहरीले जनाएको छ । प्रहरी, प्रशासन सबै निकाय लकडाउन कार्यान्वयनमा केन्द्रित भएका बेला बलात्कारका घटना अझ धेरै भएको अधिवक्ता गजराज पाण्डेको भनाइ छ । लकडाउनका बेला पक्राउ परेका घटना तीनवटा भए पनि उजुरी दर्ता नभएका, पक्राउ नपरेका र उजुरी नआएका धेरै घटना सार्वजनिक हुन नसकेको अधिवक्ता पाण्डेले बताउनुभयो । (रासस)