ट्रक दुर्घटनामा एक जनाको मृत्यु

शुक्रबार, ०२ जेठ २०७७, १० : ५०
ट्रक दुर्घटनामा एक जनाको मृत्यु

मेलम्ची । सवारी दुर्घटनामा परी सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–१ चोचेडाँडाका ३८ वर्षीय कृष्णवीर तामाङ रहेका छन् ।

बिहीबार दिउँसो लिसङ्खुपाखर गाउँपालिका–१ चोचेडाँडास्थित भित्री सडकखण्डमा मुडेबाट ब्यासतर्फ आलु अनलोड गरी खाली आउँदै गर्दा बा५ख २४१६ नंको मिनीट्रक दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।मिनीट्रकका पछाडि बसेका तामाङ ट्रकबाट खसेर त्यही ट्रकको टायरमा टाउको परेकाले घटनास्थलमै ज्यान गएको काफ्लेले जानकारी दिनुभयो । सवारी साधन र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना हुँदा चार गम्भीर घाइते

सिन्धुपाल्चोकको हेलम्बुमा ट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । हेलम्बु गाउँपालिका–१ बाट मेलम्ची फर्किदै गर्दा बा३ख ७९६८ नंको ट्रक गनेशेमा आज बिहान दुर्घटनामा परेको थियो । ट्रकमा सवार चारै जना घाइतेको मेलम्चीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ लैजान लगिएको इलाका प्रहरी कार्यलय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिनुभयो ।

चालक निदाएका कारण दुर्घटना परेको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । घाइते हुनेमा सुनकोशी–५ का चालक पासाङ तामाङ, सोही गाउँपालिकाका २५ वर्षीय ग्यालसन तामाङ, मेलम्ची–१० का १९ वर्षीय राजन सुनार र बाह्रबिसे नगरपालिकाका २१ वर्षीय लालबहादुर तामाङ रहेका छन् ।  (रासस)