एजेन्सी । विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविर बंगलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोक्स बजारमा रहेको विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरमा करिब १० लाख रोहिंग्या शरणार्थी बस्छन् ।
२ जनामा संक्रमण देखिएसंगै शिविरभर महामारी फैलिने चिन्ता बढेको छ । संक्रमण पुष्टि भएका दुई रोहिंग्यालाई हाल आइसोलेशनमा राखेर उपचार सुरु गरिएको छ । करिब १ हजार ९ सय शरणार्थीलाई परीक्षणको लागि आइसोलेसनमा राखिएको छ । कोक्स बजारमा रहेको यो शिविर अत्यधिक भीड भएको क्षेत्र हो ।
कक्स बजारको शिविरमा म्यानमारमा आफूहरुमाथि भएको हिंसाबाट जोगिनका लागि भागेर आएका झण्डै १० लाख रोहिंग्याहरु बस्दै आएका छन् । कक्स बजारको शिविरमा रहेका रोहिंग्याहरु गएको मार्च १४ देखि नै लकडाउनमा छन् । कोरोना भाइरसको महामारी शरणार्थीहरुमा अति नै विकराल बन्न सक्ने भन्दै चिन्ता जताइएको छ ।
यस्तै ग्रिसमा पनि ठूलो संख्यामा शरणार्थी छन् । ग्रिसले संक्रमणको जोखिममा रहेको झण्डै १ हजार ६ सय शरणार्थीलाई अरु देशमा पुनर्स्थापित गर्ने तयारी थालेको छ । ग्रिसको लेस्बोस आइल्याण्डमा यो हप्ता पुगेका शरणार्थी मध्ये दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
ग्रिसमा भन्दा भयावह अवस्था बंगलादेशको कक्स बजारमा छ । त्यहाँका साँघुरा टहरामा स्वच्छ पानीको पहुँच बिना बस्दै आएका रोहिंग्याहरुमा महामारी सुरु भएमा तीव्र गतिमा फैलिन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।
प्रतिक्रिया दिनुहोस