वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई के दिने रोजगारी ?

पत्रपत्रिकाबाट

बुधबार, ३१ बैशाख २०७७, ०७ : ५४
वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई के दिने रोजगारी ?

काठमाडौँ । नेपालको आन्तरिक श्रम बजारमा थेग्न नसकेको श्रमशक्ति बाहिर छन् । जो अब फर्किने भन्दै झिटीगुन्टा कसेर पर्खिरहेका छन् । यदि सरकारले आकलन गरेअनुसार नै उनीहरू स्वदेश फर्किएमा त्यो श्रमशक्तिलाई कहाँ समायोजन गर्ने भन्नेमा प्रस्ट हुनै बाँकी छ ।

कतारमा कार्यरत झापाका छिरिङ शेर्पालाई नेपाल फिरिहाल्न मन छैन । उनी अझै कम्तीमा तीन वर्ष कतारको रोजगारीलाई निरन्तरता दिने पक्षमा छन् । तर अब यो योजना उनको हातमा छैन । ‘मलाई थाहा छैन भोलि के हुन्छ भनेर,’ उनले कान्तिपुरसँग फोनमा भने, ‘मलाई त यहीं काम गर्न मन छ । अहिलेसम्म कम्पनीले रोजगारी कटौती गर्ने कि निरन्तरता दिने केही बताएको छैन । हाम्रो कम्पनीले पनि कस्तो अवस्था हुन्छ भनेर अनुमान लगाउन सकेको छैन ।’उनी १२ वर्षदेखि कतारमा सेल्सम्यानका रूपमा काम गरिरहेका छन् ।

अहिले ड्युटी नभएको भने दुई महिना भयो । ‘कम्पनी रोजगारीबाट निकालिहाल्ने पक्षमा देखिंदैन । सधैं स्थिति यही भयो भने त अन्तिममा जाने त नेपालमै हो,’ उनले भने । उनी कतारमा परिवारसहित बस्दै आएका छन् । कतारमा परिवारको खर्च कटाएर हरेक महिना नेपालमा एक लाख ५० हजार रुपैयाँ बचत गरिरहेका छन् । ‘मैले यहाँ सेल्सम्यानको काम सिकेको छु । यो सीप भनेको मार्केटिङ क्षेत्र हो । नेपाल जानुपरेमा मझौला किसिमको मार्केट खोलेर बस्ने योजना छ’, उनले भने ।

यसका लागि उनले सरकारले निब्र्याजी ऋण दिनुपर्ने नीति ल्याउनुपर्ने आवश्यकता देख्छन् । ‘अब सहुलियत ऋण सहज रूपमा पाउने अवस्था हुनुपर्छ’, उनले भने । गुल्मी दरबार गाउँपालिका–३ गुल्मीका डीबी घर्तीमगर ११ वर्षदेखि साउदी अरबको पूर्वी क्षेत्र दमामस्थित कतिफमा पेट्रोल पम्पमा तेल भरिरहेका छन् । ‘मैले हाम्रो काम के हुन्छ भनेर साहुलाई सोधिरहन्छु । साहुले यो काम साउदीले गर्दैन, तिमीहरू त हो नि भनेर जवाफ दिन्छन्,’ उनले भने, ‘तैपनि के हुन्छ भन्ने त चिन्ता लागिरहन्छ ।’

उनले आफ्नो खर्च कटाएर हरेक महिना ३५ हजार रुपैयाँ घरमा पठाइरहेका छन् । ‘मेरो अरू केही उपाय छैन । बचत पनि छैन । साउदीबाट पठाउने खर्चले नै परिवारको खर्च र छोराछोरीलाई पढाउँदै आएको छु’, उनले भने, ‘अहिले नै म साउदीबाट घर जान मेरो इच्छा होइन । जबर्जस्ती जाऊ भने मात्रै घर आउने हो । अब फर्किएमा हामीलाई सरकारले हेर्नुपर्छ । हामीलाई पैसा होइन, जीविकोपार्जन गर्नमात्रै काम दिए हुन्छ ।’

साउदीको राजधानी रियादस्थित नेपाली दूतावासका अनुसार सोमबारसम्म झन्डै १० हजार नेपालीले सम्पर्क गरेका छन् । जसमा अधिकांश स्वदेश फिर्न चाहनेहरू छन् । गैरआवासीय नेपाली संघका प्रवक्ता डीबी क्षेत्रीले खाडीमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब र कतारबाट रोजगारी कटौती हुने स्थिति देखिएको वताए । ‘श्रम बजारलाई सन्तुलनमा राख्नका लागि खाडी देशले नयाँ भिसा जारी नगर्ने परिस्थिति देखेको छु । जसले गर्दा कम्पनीले नयाँ कामदार ल्याउन अप्ठ्यारो पर्ने हुँदा आफूसँग भएका कामदारहरू सोचविचार गरेरमात्रै पठाउँछन्’, उनले भने ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार तत्काल खाडी तथा मलेसियाबाट झन्डै एक लाख जना नेपाली स्वदेश आउन तयारी अवस्थामा छन् । ती देशमा रहेका नेपाली दूतावासहरूले रोजगारी अवधिको करार समाप्त भई स्वदेश आउनका लागि हवाई उडान खुल्ने प्रतीक्षामा नेपाली रहेको प्रतिवेदन परराष्ट्रलाई पठाएका हुन् । अवस्था हेरीकन त्यसपछि भने कामदार फर्किने अवस्था आउने बताए । परिस्थिति बढ्दै गएमा फर्किने संख्या पनि बढ्दै जानेछ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस