नेपालमा पत्रकार र नर्समा पनि देखियो कोरोना भाइरस

सफल खबर संवाददाता

मंगलबार, ३० बैशाख २०७७, १७ : ३९
नेपालमा पत्रकार र नर्समा पनि देखियो कोरोना भाइरस

कपिलवस्तु । कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत एक नर्समा कोरोना संक्रमण देखिएको छ । 

कपिलवस्तुमा आज मंगलबार संक्रमण पुष्टि भएका ८ जनामध्ये ७ जना कपिलवस्तु नगरपालिकाका क्वारेन्टाइनमा रहेका र १ जना ती नर्स रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

तौलिहवा अस्पतालमा उनीसहित ९ जनाको स्वाब संकलन गरिएको थियो । बाँकी ८ जनाको रिर्पोट नेगेटिभ छ ।

यस्तै आजै पर्सामा चार जना पत्रकार कोरोनाबाट संक्रमित भएका छन् । आज भेटिएका ३९ जना संक्रमितमध्ये चार जना पत्रकार रहेका छन् ।

आज एकैदिन नेपालमा ५७ जनामा कोरोना पुष्टि भएको थियो । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । 

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । जसमध्ये ३० जना निको भएर घर फर्किसकेका छन् ।