भैरहवा भन्सारबाट रु ११ करोडको औषधि आयात

रासस

सोमबार, २९ बैशाख २०७७, १९ : १४
भैरहवा भन्सारबाट रु ११ करोडको औषधि आयात

फाईल फोटो

काठमाडौं । बन्दाबन्दीपछि भैरहवा भन्सार कार्यालय, रुपन्देहीबाट रु. ११ करोड १६ लाख ६० हजार ४१३  बराबरको औषधिजन्य सामग्री आयात भएको छ । भारतबाट आयात गरिएका औषधिजन्य सामग्रीमा तयारी अवस्थाको औषधि र औषधिको कच्चा पदार्थ रहेको भैरहवा भन्सार कार्यालय रुपन्देहीका प्रमुख भन्सार अधिकृत कमल कुमार भट्टराईले जानकारी दिनुभयो ।

उक्त कार्यालयका  अनुसार गत  चैत ११ गतेपछि बन्दाबन्दीको ४६ दिनमा ६० लाख ७ हजार ८२७ किलोग्राम बराबरको औषधिजन्य सामग्री आयात भएको छ । बन्दाबन्दीपछि ज्वरो आउँदा प्रयोगमा ल्याइने सिटामोलदेखि लाइफ सेभिङ ड्रग आयात भएका छन् । तिनमा आयुर्वेदिक औषधि, सर्जिकलका सामग्री, आँखाका औषधि, स्लाइन, प्रेसर, एन्टिबायोटिक इन्जेक्सन रहेको भैरहवा भन्सार कार्यालय रुपन्देहीका सूचना अधिकारी पूर्ण लम्सालले बताउनुभयो ।

आर्थिक वर्ष २०७५÷ ०७६ मा सो भन्सार कार्यालयबाट औषधिजन्य रु दुई अर्ब २७ करोड ६१ लाख ८४ हजार ८११  बराबरको सामग्री आयात भएको थियो । सो अवधिमा भारतबाट भैरहवा भन्सार कार्यालय हुँदै  एलपी ग्यास, डिजेल, पेट्रोल, खाद्यान्न, तेलहन तथा तेल, आलुप्याज, तरकारी तथा फलफूल र अन्य गरी सात हजार ५२१ मालवाहक ट्रक तथा कन्टेनर नेपाल प्रवेश गरेका छन् ।
बन्दाबन्दीको ४६ दिनका अवधिमा रु सात करोड ६८ लाख ५३ हजार मूल्य बराबरको सरसफाइमा प्रयोग हुने सामग्री ४७३ मेट्रिक टन  भारतबाट नेपाल आयात भएको भन्सार कार्यालयको अभिलेखले बताउँछ । तरकारी तथा फलफूल रु ८९ करोड ६९ लाख एक हजार  बराबरको २८ हजार ८५ मेट्रिक टन सामान बोकेर कन्टेनर बन्दाबन्दी समयमा भैरहवा भन्सार कार्यालय हुदै नेपाल प्रवेश गरेका छन् ।