कान्दाका चेपाङलाई चितवन राईजको राहत

सफल खबर संवाददाता

सोमबार, २९ बैशाख २०७७, १२ : ५६
कान्दाका चेपाङलाई चितवन राईजको राहत

चितवन । जिल्लाको विकट गाउँ कान्दाका वासिन्दालाई लायन्स क्लब अफ चितवन राईजले आज (सोमबार) राहात सामग्री हस्तान्तरण गरेको छ । राप्ती नगरपालिका वडा नं. १३ का अध्यक्ष सूर्यबहादुर चेपाङलाई क्लबले राहत हस्तान्तरण गरेको हो ।

सो अवसरमा बजार मूल्य रु.४० हजार पर्ने तीन क्विन्टल चाउचाउ अध्यक्ष चेपाङलाई हस्तान्तरण गरिएको छ । क्लबका अध्यक्ष नारायण अधिकारी, प्रथम उपाध्यक्ष अर्जुन अर्याल, कोषाध्यक्ष तिलक रिमाल, निर्देशक राधेश्याम खतिवडा र स्मार्ट फुड एण्ड स्न्याक्स प्रा.लि.का महाप्रबन्धक विकास अमात्यले उद्योग परिसर रत्ननगर, पिठुवामा आयोजित संक्षिप्त कार्यक्रममा सामग्री हस्तान्तरण गर्नुभएको हो ।  क्लबलाई उद्योगले सहुलियत दरमा चाउचाउ उपलब्ध गराएको हो ।

अध्यक्ष चेपाङले कान्दाका ७० परिवारलाई चाउचाउ वितरण गरिने जानकारी दिनुभयो । चाउचाउसँगै सो क्षेत्रको विकासमा लागिरहेको मितेरी फाउण्डेशन नेपालले सो क्षेत्रमा वितरण गर्न खाद्यान्न सामग्री लगेको छ । संस्थाका अध्यक्ष रविन्द्र बानियाका अनुसार फाउण्डेशनका सदस्यहरुले आर्थिक संकलन गरी ७० बोरा चामल, १४० पोका नुन, ७० पोका तेल, १४० वटा साबुन र ७० किलो केराउ पठाएको छ ।

ती सामग्री त्यहाँका सबै परिवारलाई वितरण गरिंदै छ । बि.सं. २०६७ साल जेठमा विषालु च्याउ खाँदा कान्दाका एकै परिवारका ८ जनाको मृत्यु भएको थियो । आर्थिक रुपमा विपन्न चेपाङ समुदायको वस्ती रहेको सो क्षेत्र नगरपालिकामा पर्ने भए पनि निकै विकट क्षेत्रमा पर्दछ ।

त्यहाँका वासिन्दालाई आफ्नो बारीको उब्जनीले वर्षभरीलाई खान पुग्दैन । कोरोनाको कारण भएको लकडाउनका कारण शहरी क्षेत्रमा काम पनि नपाउने भएपछि उनीहरुलाई खानाको समस्या परेको छ ।

प्रतिक्रिया दिनुहोस