परिक्षण नै नगरि 'कोरोना निगेटिभ' को रिपोर्ट

पत्रपत्रिकाबाट

सोमबार, २९ बैशाख २०७७, ०७ : ३७
परिक्षण नै नगरि 'कोरोना निगेटिभ' को रिपोर्ट

काठमाडौँ । नुवाकोट शीतलबेसीकी सुनिता कार्की ८ महिनाकी गर्भवती छिन् । नियमित परीक्षण गराउन शुक्रबार काठमाडौं आइपुगिन् । बाटैबाट चाबहिलस्थित घरबेटीलाई फोन गरिन् । ‘घरमा आउन त आऊ तर, टेकुमा कोरोना परीक्षण गरेर मात्रै आऊ’ भनेपछि कोठामा नगई उनी सिधै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्तपाल पुगिन् ।

उनको साथमा बहिनी पनि थिइन् । दुवैले लाइन लागेर चिकित्सकलाई भेटे । ‘किन आउनुभएको’ भन्ने चिकित्सकको प्रश्नमा उनले घरबेटीले कोरोना परीक्षण गरेर आउनु भनेकोले आएको बताइन् । चिकित्सकले ‘विदेश, नेपालगन्ज, तराईका जिल्ला, उदयरपुर कहीँ जानुभएको छ, विदेशबाट आउनेको सम्पर्कमा हुनुहुन्छ, ज्वरो, खोकी छ कि छैन’ भनेर सोधे । उनले जवाफमा नाइ र छैन मात्रै फर्काइन् ।

सुनिताले सोचेकी थिइन् अब रगत र र्‍याल पनि परीक्षण हुन्छ होला, त्यही रिपोर्ट लिएर घरबेटीलाई देखाउँछु । अस्पतालले उनको न त रगत परीक्षण गर्‍यो, न त स्वाब नै । सुनिताले दिएको जवाफकै आधारमा चिकित्सकले उनमा कोरोनाको लक्षण नभएको भन्दै लेखेर पठाइदिए । यहाँका चिकित्सकहरुले परीक्षण गर्न आउनेहरुसँग परामर्श गरेर यात्रा विवरण र भेटघाटको आधारमा कोरोनाको लक्षण भए–नभएको लेखेर पठाइदिने गरेका छन् ।

आइतबार अस्पताल पुग्दा स्वाब संकलन गर्ने ठाउँमा दुई चिकित्सक परामर्शका लागि बसेका देखिए । उनीहरुले परीक्षण गर्न आउनको ज्वरो नाप्थे । कहाँबाट आएको, कसलाई भेटेका छन् र कहाँ–कहाँ जानुभएको छ जस्ता प्रश्न सोधेका आधारमा कोराना नभएको प्रमाणित गरिदिन्थे । यतिसम्म कि ज्वरो आएर अन्य अस्पतालले रेफर गरेका बिरामीको समेत परीक्षण गरिएको थिएन । परीक्षण नभएका मध्येका एक हुन् डिल्लीबजारका मुकेशकुमार ठाकुर । ज्वरो आएपछि मुकेशलाई उनका बुबा नन्दलालले शनिबार हिँडाएरै वीर अस्तपाल पुर्‍याए ।

ओपीडी बन्द भएकाले उनलाई आकस्मिक कक्षमा पठाइयो, त्यहाँबाट ज्वरो क्लिनिक । ९९ डिग्री फरेनहाइट तापक्रम देखिएपछि कोरोना जाँच गर्न टेकु अस्तपाल जान भनियो । नन्दलालले बिरामी छोरालाई हिँडाएरै टेकु पुर्‍याए । टेकुमा पनि आकस्मिकबाहेक अन्य सेवा सञ्चालनमा थिएन । सामान्य सोधपुछ गरेर आइतबार आउन भन्दै चिकित्सकले फिर्ता पठाए । आइतबार १० बजे नै उनीहरु टेकु पुगे । तर, कोभिड परीक्षण भने भएन । ‘कोभिड परीक्षण नगरी अरू अस्पतालले उपचार गर्दिएन । टेकुमा पनि किट नै छैन भनेर परीक्षण गर्दिएनन्,’ नन्दलालले भने, ‘कोभिडको महामारीको बेला हामीलाई परीक्षण गर्दिनुस् भन्दा पनि किट छैन भनेर फर्काइन्छ । अस्पतालमा जाउँ उपचार गर्दैन ।

घर जाउँ छोरालाई ज्वरो हनहनी छ, अब कहाँ लैजाऊँ रु’ टेकु अस्पतालले मुकेशलाई कोभिड–१९ को लक्षण नभएको कागज लेखिदिएका छन् तर नन्दलाललाई भने परीक्षण नगरी चित्तै बुझेको छैन । ‘दुई दिन धाउँदा पनि परीक्षण भएन,’ उनले भने । शनिबार कोरोना परीक्षण गर्न ५४ जना टेकु अस्पताल पुगेका थिए । ‘पछिल्लो समय घरधनी, कार्यालयको दबाबमा कोरोना परीक्षण गर्न आउनेको संख्या बढेको छ,’ अस्पतालका निर्देशक सागरकुमार भण्डारीले भने, ‘परीक्षण गर्ने किट नभएकोले एक सातादेखि परामर्श गरेर कोरोना परीक्षण गर्न आउनेको यात्रा विवरण र भेटेका आधारमा कोरोनाको लक्षण नभएको भनेर पठाउने गरेका छौं ।’

एक सातामा कोरोना परीक्षणका लागि ६ सय ३६ जना आइसकेका छन् । आइतबार पनि १ सय ४९ जना आएका थिए । ‘कोरोनाको लक्षण भएका र यात्रा विवरणका आधारमा मात्रै पीसीआर गर्ने गरेका छौं,’ उनले भने ।

कैदीलाई पनि प्रश्नकै भरमा निगटेभि रिपोर्ट
कोठामा छिर्न मात्रै होइन, अदालतमा पेस गर्नुपर्ने कैदीको पनि कोराना भए नभएको प्रमाणित गर्न प्रहरीले टेकुमै ल्याउने गरेको छ । किट नभएपछि उनीहरुको पनि लक्षण र यात्रा विवरण सुनाएकै आधारमा कोरोना नभएको प्रमाणित गरिदिने गरिएको छ । आइतबार बिहान महानगरीय प्रहरी वृत्त स्वयम्भूले एक कैदीलाई अदालतमा पेस गर्नुअघि कोरोना परीक्षण गर्न टेकु लग्यो ।

हतकडी लगाएकै अवस्थामा उनलाई अस्पतालले सञ्चालन गरेको परामर्श क्लिनिकमा लगिएको थियो । चिकित्सकले उनको ज्वरो नापे । अरूलाई जस्तै उनलाई पनि उपत्यकाबाहिर गएको छ, ज्वरो आएको छ जस्ता प्रश्न सोधे । शंकास्पद नलागेपछि कोभिडको लक्षण देखा नपरेको लेखेर फिर्ता पठादिए । बानेश्वरमा कोठा भएकी एक महिलालाई घरधनीले कोरोना परीक्षण नगर्ने हो भने कोठा सर्न दबाब दिएपछि उनी आइतबार टेकु पुगिन् । ‘हिँडेरै अस्पताल आएँ तर परीक्षण भएन,’ उनले भनिन्, ‘कोरोनाको लक्षण नभएको भनेर लेखिदिएका छन् ।

यही देखाउँछु, मान्छन् कि मान्दैनन् ।’ नेपाली सेनाले पनि ब्यारेक बाहिर रहेकालाई भित्र्याउन परीक्षण गर्न टेकुमै पठाउने गरेको छ । उनीहरुको पनि यात्रा विवरणको आधारमा प्रमाणित गरिदिने गरिएको छ । यसैका आधारमा मात्रै उनीहरु ब्यारेक पस्ने गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस