एकातिर कोरोना भाइरस, अर्कोतिर मनमुटाव

वीरेन्द्रमणि पौडेल

आइतबार, २८ बैशाख २०७७, १७ : १३
एकातिर कोरोना भाइरस, अर्कोतिर मनमुटाव

– वीरेन्द्रमणि पौडेल

मुलुकलाई गन्तव्यमा पु¥याउने मूलनीति अर्थात् नेपालको राजनीति खसोखासमा अहिले पनि धमिलो छ । दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको भनियो । माथिका टाउके राजनीतिज्ञहरुबीच बाहिरी र सतही रुपमा एकता भएजस्तो देखाइयो, तल्लो इकाइसम्म एकता हुन सकेन मात्रै होइन, एकताको गन्ध समेत पु¥याउन सकेनन् । अहिले पनि गाउँगाउँमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच वासनादार सम्बन्ध छैन । सत्य यही हो । फेरि एकलट त अघिल्लो हप्तासम्म माथिका टाउकेहरुबीच यतिसम्मको मनमुटाव भएको देखियो की कुनै पनि बेला घोषितरुपमै पार्टी विभाजन होला जस्तो ठानियो । तैपनि कसोकसो बामदेव काकालाई प्रधानमन्त्री बनाउन उपयुक्त समयमा कुनै क्षेत्रमा निर्वाचन गराएर जिताएर संसदमा पु¥याई प्रधानमन्त्री बनाउने विषयलाई फाइनल रुप दिइयो । मनमुटावलाई टालटुल पारियो । 

टालटुल पारेको तीनै दिन बित्न पाएको छैन, फेरि ङार्रङुर्र शुरु भइहाल्यो । प्रधानमन्त्री केपी ओलीलाई पदबाट हटाउने कुरा गरिन्छ भने ठीक नहुने भूतपूर्व सभामुख एवं कानुन व्यवसायी सुवास नेम्वाङले चेतावनी दिनुभयो । यसको अर्थ यस्तो लाग्छ कि सहमति भए बेग्लै कुरा असहमतिका बावजुद वा चित्त दुखाएर ओलीलाई पदबाट हटाउने कुरा गर्नुको अर्थ कुनै पनि बेला पार्टी विभाजनसम्म हुन सक्छ भन्ने नै हो । यसरी हेर्दा यो अवस्थाले यही भन्छ कि यो ठूलो कम्युनिष्ट पार्टी सत्तारुढ नेकपा कमजोर मेलमिलापको जगमा उभिएको छ । कसैको रिस वा आवेगको धक्काले कुनै पनि बेला यो यतिबेला ठूलो सावित कम्युनिष्ट पार्टी फुट्न पनि सक्छ । पार्टीभित्रको ताजा ङार्रङुर्रले देखिने गरी गरेको संकेत यही हो । फेरि यस्तै यस्तै तरिका र मनमुटाव बढ्दै जाँदा विगतमा कम्युनिष्ट पार्टीहरु फुटेको इतिहास लिखितरुपमै अहिले पनि पढ्न पाइन्छ । 

प्रतिकुल अवस्था अर्थात् नोबेल कोरोना भाइरसले विश्व मानवलाई बेजोडले लखेटिरहेको अवस्था र त्यो लखेटाइका कारण नेपाल पनि बहुकोणबाट घायल भइरहेकै अवस्थामा नेपालको सत्ता हाँकिरहेको कम्युनिष्ट पार्टीका नेताहरु दुईतिर बाँडिएर वचनले घमासान लड्नु र मनमुटाव निम्त्याउनुले नेपाली जनतालाई टाउको दुखाइको विषय बनिरहेकै बेला अहिले फेरि मनमुटाव देशदेशबीचमा हुने अवस्था सिर्जना भएको छ । भर्खरै नेपालको सीमाना मिचेर भारतले बाटो बनाएको र उद्घाटन समेत गरेको विषयलाई लिएर देशभक्त नागरिकहरु जोडतोडले विरोधमा उत्रिएका छन् । छिमेकीले जानअन्जानमा स्वदेशी भूमि मिचेको नेपाल सरकारले थाहा पाएर पनि कोरोना भाइरसले आतंक मच्चाइरहेको अवस्थामा कोरोनाबाट मुक्त भएपछि भारतसँग वार्ताद्वारा सीमा सम्बन्धी किचलो समाधान गरौंला सरकारले सोच्न पनि सक्थ्यो तर देशभित्रै जनदवाब बढेपछि सरकारले विज्ञप्तीमार्फत् भारतको कदमको विरोध गरेको छ । भारतले पनि बाटो आफ्नै भूमिमा बनाएको जानकारी गराएको छ । दुई देशबीच आमनेसामने सीमा मिचिएको हो वा होइन भन्ने विषयमा छलफल र बहस भएको छैन । 

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो भूमि भएको प्रमाण पेश गरेको छ भने भारतले जहाँ यतिबेला बाटो बनाएको छ, त्यो भूमि आफ्नो भएको प्रमाण पेश गरेको छैन । यदि भारतले बनाइरहेको बाटो आफ्नो देशको नक्शामा पहिलेदेखि नै थियो भन्ने प्रमाण पेश गरेको खण्डमा नेपालले प्रस्तुत गरेको प्रमाण र भारतको प्रमाणमध्ये कुनचाहीँ सही हो ? त्यो छुट्याउने काम तेश्रो पक्षको हुन्छ । यहाँनेर तेश्रो पक्ष भनेको संयुक्त राष्ट्रसंघ हो भन्ने बुझ्नुपर्छ । संसारका जति पनि देशहरुबीच सीमासम्बन्धी विवाद हुन्छ वा अन्य विषयमा मनमुटाव हुन्छ, त्यस्तो अवस्थामा प्रारम्भमा देशदेशका प्रतिनिधिबीच समस्या सुल्झाउने प्रयास हुन्छ । त्यो प्रयास पटकपटक असफल भएको खण्डमा मुद्दा संयुक्त राष्ट्रसंघसम्म पुग्न सक्छ । पुराना प्रमाणहरुले यस्तै भन्छन् । तर योचाहीँ फेरि निश्चित हुन्न कि संयुक्त राष्ट्रसंघको मध्ययस्थता हुने बित्तिकै समस्या समाधान भइहाल्छ । उदाहरणका रुपमा दुर्ई देश भारत र पाकिस्तानबीच कश्मिर विवाद आजसम्म नसल्टिनुलाई लिन सकिन्छ । यो समस्या समाधानका लागि संयुक्त राष्ट्रसंघले प्रयास नगरेको होइन तर कश्मिरी राजा हरिसिंहको हातबाट स्वतन्त्र देश कश्मिर फुत्किएपछि निम्तिएको विवाद आज पनि सल्टिएको छैन । 

भारत र पाकिस्तान जुम्ल्याहा दाजुभाइ देश हुन् एकैपटक जन्मिएका । अंग्रेजको मुट्ठीबाट भारत स्वतन्त्र हुँदा भारत र पाकिस्तानको रुपमा दुई देशको जन्म भयो । एउटा देश भारत र अर्को पाकिस्तानको रुपमा जन्मिँदा भारतको सर्वमान्य नेता महात्मा गान्धी हुनुहुन्थ्यो भने पाकिस्तानको सर्वमान्य नेता मोहम्मद अलि जिन्हा हुनुहुन्थ्यो । तेश्रो देशको जन्मचाहीँ पाकिस्तान टुक्रिएर सन् १९७१ मा बंगलादेश जन्मियो । आज उतिबेलाको मुश्लिम बाहुल्य क्षेत्र पूर्वी पाकिस्तान बंगलादेशको  रुपमा चिनिएको छ । आज केही कश्मिरभूमि पाकिस्तान अधिनस्त छ भने केही भारततर्फ रहेको छ । यो विवादले भारत र पाकिस्तानबीच सीमानामा यदाकदा गोली हानाहान हुने र केही सैनिकहरु हताहत हुने प्रक्रिया पनि टुंगिएको छैन । 

अब यतिबेला नेपाल र भारत मात्रै कष्टमा डुबेको होइन । कोरोना भाइरसले संसारका सबैलाई रुवाएको छ । यो बेला छिमेकी छिमेकीबीच खटपट हुनु कुनै पनि कोणबाट ठीक होइन । ठूला क्षेत्रफल भएका भारतजस्ता देशलाई उही आकारका समस्याहरु हुन्छन् । फेरि भारत विश्वमा चीनपछिको धेरै जनसंख्या भएको देश हो । सवा अर्बभन्दा ज्यादा जनता भएको देश हाँक्न भारत सरकारलाई कम्ती कठिनाइ हुन्न । नेपाल भारतभन्दा क्षेत्रफलका हिसाबले सानो राष्ट्र हो । क्षेत्रफलका हिसाबले १,४७,१७१ वर्गकिलोमिटर भएको र जनसंख्या झण्डै तीन करोड मात्रै भएको नेपालको पनि आफ्नै खाले समस्याहरु छन् । समस्या त भारत र नेपालको उस्तैउस्तै हो तर संख्या धेरै र थोरै मात्रै हो । आज पनि दुवै छिमेकी देश गरिबी, अशिक्षा, आर्थिक भ्रष्टाचार, कुसंस्कार जस्ता समस्याबाट ग्रस्त छन् । साझा समस्या समाधानका लागि भारत र नेपालबीच हार्दिकता र भाइचाराको भावना प्रदर्शन गर्नु आजको आवश्यक्ता हो दुवै देशका लागि । 

निजी स्वार्थ कत्ति पनि नभएका राष्ट्रहितलाई केन्द्रभागमा राख्ने बहुमुखी क्षमताका धनी नरेन्द्र दामोदरदास मोदीलाई भारतले प्रधानमन्त्रीको रुपमा पाएको छ । फेरि छिमेकी देशहरु खासगरी नेपाल जस्तो मुलुकको समस्याबारे भारतीय प्रधानमन्त्री मोदी पूराका पूरा जानकार हुनुहुन्छ । उहाँका समकक्षी नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि नेपाल र भारतको साझा समस्या बुझेको नेता हुनुहन्छ । दुनियाँमा कत्राकत्रा डरलाग्दा समस्याहरु हुन्छन् । वार्ताद्वारा सजिलै समाधान गर्न सकिन्छ । यसका लागि टाढाको देवताभन्दा छिमेकको मान्छे नै काम लाग्छ भन्ने सत्यमा अडिएको कथनलाई भारत र नेपाल दुवैले महसुस गर्नुपर्छ । नेपालका प्रधानमन्त्री केपी ओलीले सिधा भारतीय प्रधानमन्त्रीलाई टेलिफोनमा सम्पर्क गरेर सीमा मिचिएकोबारे आफ्नो भनाइ राख्नसक्नुहुन्छ र राख्नुपर्छ । नेपाल पक्षले उठाएको विषयमा भारतले गम्भीरतासाथ लिनुपर्छ र लिइने विश्वास पनि गर्नुपर्छ । किनकी पहिलो त भारत र नेपाल छिमेकी छिमेकी, दोश्रो भारत र नेपाल मिलेरै कोरोना भाइरससँग लड्नुपर्ने अवस्था । यो कठिन अवस्थाबारे दुवै देश र दुवै देशका प्रधानमन्त्रीहरु जानकार भएको हुँदा यो सीमा विवादले निम्त्याउन सक्ने मनमुटावलाई अहिल्यै पूर्णविराम लगाउनु पर्छ । अहिल्यै पूर्णविराम लगाउँदा नै भारत र नेपाल दुवैको हित हुनसक्छ ।