अमेरिकामा सीमित संख्याका बालबालिकामा दुर्लभ खाले नयाँ रोगको संक्रमण

विहीबार, २५ बैशाख २०७७, १२ : ४१
अमेरिकामा सीमित संख्याका बालबालिकामा दुर्लभ खाले नयाँ रोगको संक्रमण

एजेन्सी । यसअघि यस्तै अवस्था बेलायत, इटली र स्पेनलगायत युरोपेली देशमा पनि देखिएको थियो । त्यसयता, विश्व स्वास्थ संगठनले गत साता यस्तो इन्फ्लाम्मेटरी अवस्था र कोभीड–१९ को सम्भाव्य सम्बन्धबारे अध्ययन भइरहेको जानकारी दिएकोे थियो ।
अहिले अमेरिकाको न्युर्योक शहरमा भर्ना भएका २ देखि १५ वर्ष उमेर समूहका कम्तिमा १५ बालबालिका यस्तो इन्फ्लाम्मेटरी अवस्थाबाट प्रीडित छन् । 

बालबालिकाको रक्तनलीमा देखिने यो दुर्लभ डिसअर्डरको लक्षण कावासाकी रोगसँग मिल्ने चिकित्सकहरुले जनाएका छन् । यस रोग लागेपछि ज्वरो आउने, छालामा खटिरा आउने र चिलाउनेलगायत अन्य धेरै समस्या देखिन्छ । 

‘बेलायतका अधिकारीहरुले भर्खरै जानकारी दिएको मल्टी सिस्टम इन्फ्लाम्मेटरी सिन्ड्रोम न्युर्योक शहर र अमेरिकाका अन्य स्थानमा पनि बालबालिका र युवा वयस्कमा देखिएको छ,’ न्युर्योक शहरको स्वास्थ विभागअन्तर्गत रोग रोकथाम डिभिजनका सहायक कमिस्नर डेमेट्री डास्कााकिसले भने । डास्कालाकिसका अनुसार यस रोग लागेपछि बालबालिकाले निरन्तर ज्वरोको अनुभव गर्छन् । त्यस्तै, आधाभन्दा बढीमा छाला चिलाउने, दुखाई हुने, वान्ता गर्ने, झाडापखाला लाग्ने र केहीमा स्वासप्रश्वास सम्बन्धी समस्या पनि देखिएको छ । यद्यपी अहिलेसम्म यस रोगबारे पूर्ण रुपमा केही थाहा नभएको उनले बताए । 

यस्तो अवस्थापछि अस्पताल आएका बिरामीलाई आईसियुमा भर्ना गरिएको थियो । उनीहरुलाई कार्डियाक वा रेस्पिरेटरी सर्पोट चाहिएको थियो । ५ जनालाई त भ्यान्टिलेसनकै आवश्यकता प¥यो । 

यी बालबालिकाहरु अप्रिल १७ देखि मे १ सम्म अस्पताल भर्ना भएका थिए । भर्ना भएका १५ जना बालबालिकामध्ये ४ जना कोभीड १९ पोजेटिभ पाइएका छन् । ११ जनामा भने कोभीड–१९ संक्रमण ेखिएको छैन । यद्यपी, यसमध्ये ६ जनामा कोरोना भाइरसको एन्टीबडीज फेला परेको छ, जसको अर्थ उनीहरु पहिले संक्रमित भएको हुनसक्छ । 

गत महिना बेलायतको बाल रोग इन्टेन्सिभ केयर समाजले यसर रोगबारे सतर्क रहन डाक्टरहरुको ध्यानाकर्षण गराएको थियो । ‘इन्टेन्सिभ केयर आवश्यक पर्ने मल्टि–सिस्टम इन्फ्लाम्मेटरी अवस्था बालबालिकाहरुमा देखिने क्रम बढ्दो छ,’ ध्यानाकर्षण पत्रमा लेखिएको थियो । यस स्वास्थय समुहले कोभीड–१९ सँग सम्बन्धित सिन्ड्रोम बालबालिकामा बढेको हुनसक्ने जनाएको थियो । ‘वा त्यहाँ अर्को अज्ञात विषालु रोग यी घटनामा देखिएको हुनसक्छ,’ विज्ञप्तीमा भनिएको थियो । यो रोग कावासाकी जस्तै रहेको पनि विज्ञप्तीमा जनाइएको थियो । त्यस्तै अधिकारीहरुले केही बालबालिकामा कोभीड–१९ देखिएको र केहीमा नदेखिएको जनाएका थिए । स्पेन र इटलीका स्वास्थ अधिकारीले पनि यसअघि यस्तै चेतावनी दिएका थिए । इटालियन फिजिसियनहरुले कावासाकी रोगका बिरामीको संख्या अस्वभाविक रुपमा बढेको जनाएका थिए । बिरामी बालबालिकामध्ये केहीमा कोभीड–१९ देखिएको र केहीमा नदेखिएको उनीहरुले जनाएका थिए ।