प्रचण्ड भेटन एकाबिहानै किन पुगे वामदेव ?

सफल खबर संवाददाता

बुधबार, २४ बैशाख २०७७, ०९ : ३७
प्रचण्ड भेटन एकाबिहानै किन पुगे वामदेव  ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको उधारो आश्वासनको पुलिन्दामै क्याम्प फेरेका नेकपा उपाध्यक्ष वामदेव गौतम प्रचण्ड भेटन खुमलटार पुगेका छन् । १७ वैशाखमा एकाएक ओलीले कोरोना संकटपछि आफुले राजीनामा दिने र त्यसपछि गौतमलाई संसदमा लगि प्रधानमन्त्री बनाउने छेप्यास्त्र छोडेपछि गौतम बुकुर्सी मारेर ओली क्याम्पमा पुगेका थिए । 

त्यसपछिका तीन दिन उनले पहिले सहकार्य गरेका प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँगको सहकार्य तोडेर सम्र्पकमै रहन चाहेनन । माधव नेपालले छलफलका लागि बोलाउदा समेत उनी पुगेनन् । तर न ओलीले उनलाई प्रधानमन्त्री बनाउने कुरा गरे, न संसदमै ल्याउने ठोस अवधारणा नै ल्याए । तर पनि उनले आफैले २० वैशाखको सचिवालयमा आफ्नो सेफ ल्यान्डिङका लागि उपयुक्त समयमा प्रतिनिधीसभा उम्मेदवार बनाउने निर्णय गरेको माइन्यूट गर्न लगाए ।

त्यस अगाडी ओलीसँग एक्लै छलफलमा बसेका गौतमले ओलीसँग कस्तो सम्झौता गरे ? त्यो अहिलेसम्म खुल्न सकेको छैन । तर उनी त्यसयता ओली क्याम्पका पिल्लरका रुपमा देखा पर्न थालिसकेका छन् । त्यसदिन यता उनी प्रचण्ड, नेपाल, खनाल र श्रेष्ठसँग कुनै छलफल र सम्वादमा समेत थिएनन् । आज फेरि स्थायी समिति एजेण्डा तय गर्न सचिवालय बैठक बस्ने पूर्वसन्ध्यामा भने उनी आफंै समय लिएर प्रचण्ड भेटन खुमलटार पुगेका छन् ।

उनी प्रचण्डलाई किन भेटन पुगे ? प्रधानमन्त्री ओली शनिबारको सचिवालय बैठकको सहमतिबाटै पछि हटन खोजेको आरोप लागिरहेको देखिेपछि फेरि चिसिन थालेको दुई अध्यक्षको सम्बन्धका बीचमा उनी प्रचण्ड भेटन खुमलटार पुगेका हुन् । एकाबिहानै खुमलटार पुगेका गौतम प्रचण्डसँग छलफलका लागि आफै पुगे या ओलीका प्रतिनिधी बनेर पुगे ? त्यो खुल्न सकेको छैन । तर उनले खुमलटार पुगेर प्रचण्डसँग करिव ४५ मिनेट छलफल गरेर बाहिरिएका छन् । स्रोतका अनुसार, भोलि देखि बस्ने नेकपाको स्थायी समिति बैठकमा ओलीसँगसँगै आफनो पनि चर्काे आलोचना हुने देखेपछि त्यसलाई मथ्थर बनाउने योजनाका साथ गौतमको खुमलटार दौडधुप भएको हुन सक्छ ।

गौतमले एकाएक ओलीको उधारो आश्वासनमै ओली क्याम्पतिरै डेरा सारेपछि स्थायी समिति माग गर्ने २० नेताले गौतम अवसरवादी नेता भएको आरोप लगाएका थिए । अब उनको विश्वास गर्न नहुने र पटक पटक गौतमले ओलीका अगाडी नतमस्तक मात्र बन्ने र सामान्य आश्वासनमै आफनो बोली फेर्ने नेताका रुपमा चित्रित गरेका छन् । गौतमसँग भावनात्मक रुपमा नजिक रहेका नेताहरुले पनि गौतमको ओली क्याम्पतिरको डेरा सराईलाई राम्रो मानिरहेका छैनन् । आफुलाई भेट्न पुगेका गौतमलाई भने प्रचण्डले तपाईलाई जे सही लाग्यो, त्यही गर्नुभयो भन्दै आफ्नो कुनै गुनासो नभएको जवाफ दिएर पठाएको स्रोतले बताएको छ ।
 

प्रतिक्रिया दिनुहोस