अब एकल पुरुषलाई पनि हेलम्बु गाउँपालिकामा मासिक भत्ता !

मंगलबार, २३ बैशाख २०७७, १४ : ३२
अब एकल पुरुषलाई पनि हेलम्बु गाउँपालिकामा मासिक भत्ता !

– देवराज सुवेदी
मेलम्ची । एकल महिलाले मात्र होइन, एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता  पाउने भएका छन् । यसका लागि यहाँको हेलम्बु गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट मासिक रु ५००  भत्ता उपलब्ध गराउन शुरुआत् गरेको छ । 

सो गाउँपालिकाका सात वटै वडाका १९५ जनालाई भत्ता वितरण गरिएको  अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । 

उहाँका अनुसार पालिकाले सो भत्ता वितरणका लाागि चालु  आर्थिक वर्षमा  रु २० लाख विनियोजन थियो  । “राज्यले महिला पुरुष समान भनेकाले व्यवहारिकरूपमै हामीले त्यसको शुरुआत गरेका हौँं । समानताको नाराअनुसार नै एकल पुरुषलाई पनि भत्ता वितरण गरिएको हो । ” उहाँले भन्नुभयो ।

एकल पुरुष भत्ता लिइरहेकाले ज्येष्ठ नागरिक भत्ता लिन शुरु गरेपछि भने दोहोेरो सुविधा पाउने छैनन् । हाल पालिकाभित्रका सबै वडामा एकल पुरुषको सङ्ख्या सङ्कलन गर्ने काम भइरहेको र ३५० कोे हाराहारीमा सो सङ्ख्या रहेको जानकारी सो गाउँपालिकाले दिएको छ । अहिले रु ५०० बाट शुरु गरेको यो कार्यक्रम आगामी वर्षहरुमा बढाउँदै लैजाने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

क्वारेन्टाइनको मापदण्ड पुगेन

अनुगमनका क्रममा सुनकोशीका ११ श्ययाको क्वारेन्टाइनको मापदण्ड नपुगेपछि हाललाई बन्द गरिने भएको छ । सोमबार जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङको नेतृत्वमा अनुगमनमा गएको टोलीले उक्त क्वारेन्टाइनमा आवश्यक मापदण्ड नपुगेको भन्दै बन्द गर्ने निर्णय गरेको हो ।

क्वारेन्टाइनको नाममा स्थानीय तहले कोठामा श्यया तयार गरेको मात्रै पाइएको र यसका लागि अन्य आवश्यक स्वास्थ्य सामग्रीलगायतको व्यवस्थापन भइनसकेकाले उक्त क्वारेन्टाइनमा सम्पूर्ण आवश्यक सामग्रीको उपलब्धता नभएसम्मका लागि गणना नगरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अनुगमन समिति अनुगमनको क्रममा नै रहेको र अन्य स्थानको पनि क्वारेन्टाइनको अनुगमन गरी मापदण्ड नपुगेकाहरु बन्द गरिने छ ।

अनुगमनको क्रममा श्यया मात्र राखेर क्वारेन्टाइनमा स्वास्थ्य सामग्रीको समेत उपलब्धता नभएको पाइएकाले सो गाँउपालिका वडा नं ४ मा रहेको चार श्यया र वडा नं ७ मा रहेको सात श्ययाको क्वारेन्टाइन खारेज गारिएको जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख दुर्गदत्त चापागाईँले जानकारी दिनुभयो  ।

सो गाउँपालिकाले सम्पूर्ण वडावडामा नै क्वारेन्टाइन तयार गरेको थियो । जिल्ला समन्वय समितिका प्रमुख तामाङको नेतृत्वमा जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटा, सहायक जिल्ला प्रमुख बाबुराम खनाल, जिल्ला जनस्वास्थ्य प्रमुख चापागाईँ, समन्वय समितिका सदस्य सकुन्तला माझीलगायतको टोलीले .सोमबार लिसङ्खुपाखर गाउँपालिका र सुनकोशी गाउँपालिकाले तयार गरेको क्वारेन्टाइनहरुको अनुगमन गरिएको जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाले जानकारी दिनुभयो । यसअघि नै शनिबार अनुगमनको क्रममा भोटेकोशीमा रहेको १० श्ययाको क्वारेन्टाइन बन्द गरिएको थियो ।

५६ जनाले गरे रक्तदान

चौतारामा सोमबार गरिएको कार्यक्रममा विभिन्न ५६ व्यक्तिले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकले गरेको रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका रेडक्रसका महामन्त्री कमलचरण कक्षपतिले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा स्थानीय र नेपाल प्रहरीले रक्तदान गरेका थिए । (रासस) 

प्रतिक्रिया दिनुहोस