गरिमा धानको २० प्रतिशत राहत स्थानीय तहमा

सोमबार, २२ बैशाख २०७७, १४ : ३३
गरिमा धानको २० प्रतिशत राहत स्थानीय तहमा

– नारायण अधिकारी 
चितवन । नक्कली बीउका कारण बाला लाग्न नसकेको गरिमा धानबाट पीडित कृषकलाई सरकारले लागत मूल्यको २० प्रतिशत राहत स्थानीय तहमा पठाएको छ । एक साताअघि यहाँका स्थानीय तहमा सो रकम आएको हो । चितवनसहित १३ जिल्लाका १७ हजार ८०६ हेक्टर क्षेत्रफलमा लगाइएको सो जातका धानका कारण रु १७ करोड बराबरको लागत खर्च नोक्सान भएको थियो । त्यसको न्यूनतम समर्थन मूल्य रु २३ करोड रहेको छ । तत्कालका लागि सरकारले लागत मूल्यको २० प्रतिशत राहत स्थानीय तहलाई पठाएको हो ।

    कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालका अनुसार जिल्लामा सो जातका धान लगाएका सबै स्थानीय तहमा रकम आइसकेको छ । सहजता हेरेर ती स्थानीय तहले राहत रकम बाँड्ने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । एकै स्थानमा भीड हुने भएकाले वडा कार्यालयमार्फत वितरण गर्ने तयारी गरिएको छ ।

    राप्ती नगरपालिका प्रमुख प्रभा बरालले तत्काल वडा कार्यालयमार्फत वितरणका लागि प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार एक साताअघि रकम आएको हो । कृषि तथा पशुपछी विकास मन्त्रालयले पीडित किसानका लागि राहत दिने निर्णय गरेको थियो । राहत रकम अर्थमन्त्रालयमार्फत सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालय हुँदै पालिकामा पठाइएको हो ।

    कृषि ज्ञान केन्द्र, चितवनले दिएको जानकारीअनुसार लागतका आधारमा जिल्लाको राप्ती नगरपालिकाको छ हजार ४० कट्ठा क्षेत्रफलको रु दुई करोड १९ लाख ५५ हजार २३८, खैरहनीको चार हजार १११ बिघामा रु एक करोड ४९ लाख ४६ हजार ४७७ क्षति मूल्याङ्कन भएको छ । यसैगरी रत्ननगर नगरपालिकामा तीन हजार १३० बिघा क्षेत्रफलमा रु ३८ लाख ८३ हजार ९६९, कालिका नगरपालिकामा एक हजार ६८ बिघा पाँच कट्ठाको रु ३८ लाख ८३ हजार ९६९, भरतपुर महानगरपालिकाको तीन हजार १३० बिघामा रु एक करोड १९ लाख सात हजार ३७२ को क्षति मूल्याङ्कन गरेको छ । माडी नगरपालिकामा दुई हजार २९८ बिघामा रु ८३ लाख ५३ हजार १६८ क्षति भएको छ । तत्कालका लागि सो रकमको २० प्रतिशत मात्र किसानले पाउनेछन् ।

    मन्त्रालयमा विनियोजित राहत रकमबाटै कृषकलाई रकम पठाएको हो । सो बीउ नेपाल दाङ्को लमहीस्थित सनराइज एग्रिकल्चर रिसर्च प्रालिले भित्र्याएको हो । धानको डिएनए परीक्षण गर्दा नक्कली पुष्टि भएपछि ठगी भएको प्रमाणित भएको हो ।

    विसं २०७६ वैशाख ११ मा सूचित बीउबिजन पैठारी अनुमतिपत्र प्राप्त गरी सनराइजले भारतको हैदरावादस्थित रिनोभा सिड साइन्स इण्डिया प्रालीबाट गरिमा जातका वर्णशङ्कर धानको जात आयात गरी नेपालका विभिन्न क्षेत्रमा बिक्री वितरण गरेको थियो । पाक्ने बेलामा बाला नलागेपछि कृषकले धानको बीउ नक्कली भएको थाहा पाएका हुन् । ज्ञान केन्द्रका प्रमुख ढकालले हाल आएको रकम राहत मात्र भएकाले क्षति पूर्तिका लागि उपभोक्ता हित संरक्षणमार्फत कानूनी प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

च्याउ खाँदा थप सातजना बिरामी

वनमा उम्रिएको च्याउ खाँदा पूर्वी चितवनमा सातजना बिरामी परेका छन् । कालिका नगरपालिका वडा नं ३ पदमपुरका सातजना बिरामी परेका हुन् । 

बिरामी हुनेमा पदमपुरका ३४ वर्षीय शिव चौधरी, २७ वर्षीया समीक्षा चौधरी, २४ वर्षीया अनिता चौधरी, २५ वर्षीय नीरजकुमार चौधरी, ४० वर्षीया सीतावती देवी, ४५ वर्षीय लखन चौधरी र २७ वर्षीया पूजा चौधरी रहनुभएको छ । उहाँहरु सबै एकै परिवारको हुनुहुन्छ छ । 

उहाँहरुको भरतपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । बिरामीमध्ये अनिताको अवस्था गम्भीर रहेको अस्पतालका वरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरीले जानकारी दिनुभयो । उहाँहरुले घर नजिकैको वनबाट ल्याएको च्याउ खानुभएको थियो । च्याउ खाएर बिरामी परेपछि उहाँहरुलाई उपचारका लागि आइतबार राति अस्पताल ल्याइएको हो । 

यस्तै आइतबार च्याउ खाएर भरतपुर महानगरपालिका वडा नं २९ जुगेडीको एकै परिवारका पाँचजना बिरामी परेका थिए । उनीहरुमध्ये एकजनाको अवस्था गम्भीर रहेको थियो । अन्य सामान्य उपचारपछि घर फर्किएको भए पनि गम्भीर बिरामीको भरतपुर अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।  (रासस) 

प्रतिक्रिया दिनुहोस