मौसममा सुधार आउन अझै दुई साता लाग्ने

सफल खबर संवाददाता

आइतबार, २१ बैशाख २०७७, १३ : ४७
मौसममा सुधार आउन अझै दुई साता लाग्ने

काठमाडौँ । पछिल्लो केही दिनयता मुलुकमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावले  बदलीसँगै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

साथै बङ्गालको खाडी र अबर सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको जनाइएको छ । प्रिमनसुन सक्रिय रहनुका साथै बङ्गालको खाडी र अबर सागरबाट जलवाष्पयुक्त हावा निरन्तर आइरहेकाले वर्षा भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । “अहिले यो अवस्थालाई हेर्दा मौसममा सुधार आउन अझै दुई साता लाग्ने छ”, उहाँले भन्नुभयो ।

प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित श्रणिक वर्षा हुने गर्दछ । अहिले प्रिमनसुनको साथै अन्य प्रणालीको प्रभाव रहेकाले मुलुकका अधिकांश स्थानमा बिहानैदेखि बदलीसहित वर्षा भएको हो ।

उहाँका अनुसार दिनहुँ वर्षा भइरहेकाले अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको हो । आज काठमाडौँ उपत्यको अधिकतम तापक्रम २५ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । गत वर्ष आजकै दिन उपत्यकाको अधिकतम तापक्रम २९ डिग्री सेल्सियस थियो । हाल मुलुकको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । रातको समयमा दशैभर सामान्य बदली रही मेघगर्जन हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । सोमबार देशको पूर्वी तथा मध्य भूभागका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव चार डिग्री र अधिकतम तापक्रम २५ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १२ दशमलव चार डिग्री र सबैभन्दा बढी वीरेन्द्रनगरको अधिकतम तापक्रम ३२ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस