उत्तर कोरियाली नेता किमको स्वास्थ्यसम्बन्धी समाचार किन आयो ?

शनिबार, २० बैशाख २०७७, १५ : ०७
उत्तर कोरियाली नेता किमको स्वास्थ्यसम्बन्धी समाचार किन आयो ?

सोल । उत्तर कोरियाली नेता किम जोङ अनको स्वास्थ्यसम्बन्धी गम्भीर सुचनाहरु सार्वजनिक भएको करिब तीन हप्तापछि शनिबार उहाँको तस्बिर नै सार्वजनिक भएको छ । 

शनिबार उत्तर कोरियाली सञ्चारमाध्यमहरुले उहाँले कुनै एक सार्वजनिक समारोहमा सहभागी भएको तस्बिर सार्वजनिक गरेका छन् । त्यस समाचार र तस्बिर विश्वका कैयौँ सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् ।

यस समाचारलाई दक्षिण कोरियाली सञ्चारमाध्यमको माध्यमबाट अझ धेरै स्थानमा तथा विश्वव्यापी रुपमा पु¥याइएको पाइएको समाचारमा जनाइएको छ । 

यसअघि उहाँ गम्भीर रुपमा विरामी परेको समाचार कतिपयले दिएका थिए भने केहीले त उहाँको मृत्यु भएको समेत समाचार दिएका थिए । 

तर पनि उहाँ जिवीतै रहेको दक्षिण कोरियाको सुरक्षा एजेन्सीले केही दिनअघि सार्वजनिक गरेको थियो । सोही समाचारलाई सत्य ठहराउँदै उहाँआज सार्वजनिक रुपमा देखिनुभएको छ । 
उहाँलाई केही दिनयता गम्भीर रुपमा विरामी रहेको अथवा कतिपयले त उहाँको निधन भएको भन्नेजस्ता समाचार दिएका थिए । 

तर यसै हप्ताको सुरुमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका प्रमुख सुरक्षा सल्लाहकार मुन चुन इनले कोरियाली सरकारको सूचनामा उहाँ स्वस्थ्य र जिवीतै रहेको पाएको समाचार दिएको थियो । 

दक्षिण कोरियाली सो एजेन्सीले उत्तर कोरियाली नेता किम त्यहाँको पूर्वी भूभागमा रहेको वानसन रिसोर्टमा अप्रिल १३ देखि बसेको जानकारी दक्षिण कोरियाली सरकारले पाएको बताएको थियो । 

खासगरी उत्तर कोरियाली नेता अन अप्रिल १५ मा उत्तर कोरियाको एक महत्वपूर्ण कार्यक्रममा उपस्थित नभएपछि विश्वका सञ्चारमाध्यमहरुले उहाँको त्यस अनुपस्थितिबाट प्रश्न उठाएका थिए । 
त्यसदिन नेता किमका हजुरबुबा किम इल सुङको जन्मदिन थियो । त्यस अवसरमा उत्तर कोरियामा विशेष राष्ट्रिय कार्यक्रमको आयोजना गर्ने गरिन्छ । 

किम इल सुङ उत्तर कोरियाका संस्थापक हुनुहुन्छ । त्यस कार्यक्रममा उत्तर कोरियाली नेताको विशेष उपस्थिति हुने गर्दछ ।

तर त्यस दिन उहाँ किन त्यहाँ उपस्थित हुनुभएन भन्ने प्रश्नबाट नै उहाँको स्वास्थ्यसम्बन्धी चासो बाहिर आएको मानिन्छ । यसै घटनालाई लिएर केहीले उहाँ गम्भीर विरामी रहेको त केहीले उहाँको निधन नै भइसकेको समाचार बाहिर ल्याएका थिए ।

दक्षिण कोरियाकै केही पत्रिकाले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया गरिएको र त्यसपछि उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएको थियो ।
पछि सो पत्रिकाले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै उहाँको स्वास्थ्यमा सुधार हुँदै गएको भनेर पनि समाचार दियो । 

उहाँको बारेमा यस्तो समाचार आएको यो पहिलो पटक भने होइन । सन् २०१४ मा पनि उहाँको गम्भीर प्रकृतिको शल्यक्रिया गरिएको र स्वास्थ्य गम्भीर रहेको समाचार दिइएको थियो । लामो समयपछि उहाँ सार्वजनिक हुनुभएको थियो । 

यतिखेर उहाँ सार्वजनिक भइसकेपछि पनि अब उहाँको उत्तराधिकारी को होला भन्ने विषयमा विभिन्न सञ्चारमाध्यमहरुले समाचार खोजी गर्न थालेका छन् ।

साथै यतिखेरका विश्वका विभिन्न देशका सञ्चारमाध्यमहरुले उत्तर कोरियाको आणविक कार्यक्रम र आणविक वार्ता कहाँ पुग्यो भनेर पनि समाचार दिएका छन् ।  (रासस/एएफपी) 

प्रतिक्रिया दिनुहोस