पत्रकार पाल्पालीद्वारा सहयोगको आग्रह

शुक्रबार, १९ बैशाख २०७७, १३ : ४०
पत्रकार पाल्पालीद्वारा सहयोगको आग्रह

– रमेश गिरी
भक्तपुर । औषधि र खाद्यान्नको अभावले मिर्गौलापीडित पत्रकार विजयकुमार पोखरेल (बीके पाल्पाली) को परिवार आर्थिक सङ्कटमा परेको छ । शुरुदेखि नै आर्थिक सङ्कट झेल्दै आएका पाल्पालीको परिवारलाई कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनले थप समस्यामा पारेको हो । 

यसअघि दैनिक काममा गएर जसोतसो समस्या टार्दै आएकी पाल्पालीका पत्नी रेणुका भट्टराई अहिले काममासमेत जान नपाउँदा पत्रकार पाल्पालीको उपचारमा आर्थिक सङ्कट पर्नुका साथै घरमा खाद्यान्नको समस्या भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “शुरुदेखि नै समस्या झेल्दै आएको सबैलाई थाहै छ । अहिले त लकडाउनले थप समस्या पारेको छ । श्रीमान्को लागि दैनिक आवश्यक पर्ने औषधिसमेत छैन । न खानेकुरा नै छ । एकातिर श्रीमान्लाई औषधि खुवाउन नपाउनुको पीडा, अर्को खाद्यान्न नहुँदाको पीडा । त्यसमाथि पनि आफँै मधुमेहको रोगी भइयो । श्रीमान्लाई कसरी बचाउँनुजस्तो भयो ।”

लकडाउन अघिसम्म आफूले जसोतसो पाल्पालीको उपचार र घर खर्च जुटाउँदै आए पनि लकडाउन लम्बिएपछि औषधि पनि सकिएको र खर्च पनि सकिएको सकिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामी निकै सङ्कटमा परेका छौँ । कसरी औषधि ल्याउने, कसरी बालबच्चा पाल्ने, पढाउने, पत्रकार तथा साहित्यकार पाल्पालीको जीवनरक्षाका लागि सहयोग गरिदिन म आह्वान गर्दछु ।”

नेपाल बोर्डर साप्ताहिकका प्रकाशक तथा सम्पादकसमेत रहनुभएका पत्रकार तथा साहित्यकार पाल्पाली विसं २०७० मा दुवै मिर्गौला फेल भएपछि थलिनुभएको थियो । काठमाडौँको महाराजगञ्जमा उपचार सम्भव नभएपछि उहाँलाई भारत लगेर मेदान्त अस्पतालमा उपचार गराउँदा नै मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएको थियो । आफूले मिर्गौला दिन तयार भए पनि मधुमेह भएको थाहा पाएपछि नमिलेको पाल्पालीकी पत्नी भट्टराई बताउनुहुन्छ ।
 
एक छोरी र एक छोराका पिता ४५ वर्षीय पाल्पालीको पुख्र्यौली घर पाल्पाको विकट सोमादी–२ छहरा भए पनि अध्ययनको सिलसिलमा काठमाडौँ आएर सञ्चारकर्मी तथा साहित्यकार काभ्रेकी भट्टराईसँग विवाह गर्नुभएको थियो ।  जस्ताकै टहराको एउटा कोठाको खाट नै अहिले पत्रकार पाल्पालीको संसार भएको छ । मिर्गौलाको उपचार गर्दागर्दै कम्मरको हड्डी खिइएपछि चिकित्सकले पाल्पालीको कम्मरको हड्डीसमेत प्रत्यारोपण गर्नुपर्ने बताएपछि थप समस्या रहेको श्रीमती भट्टराई बताउनुहुन्छ । मिर्गौला फेर्न नसकिएको बेलामा कम्मरको हड्डी प्रत्यारोपण गर्ने कुरा त टाढा भइसक्यो उहाँका लागि ।

कानुनमा स्नातक गरेर अधिवक्ताको कामसमेत गरेका पाल्पालीको मिर्गौला रोगबाट थलिएपछि आर्थिक समस्या झेल्दै आएको छ । भारत पुगेर उपचारपछि नेपाल आएको पाल्पालीको परिवार विसं २०७२ को भूकम्पसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा जग्गा भाडामा लिएर त्यही जग्गामा जस्ताको टहरा बनाएर अहिले पाल्पालीको घरपरिवार बस्दै आएको छ ।
 
एकातिर श्रीमान्को मिर्गौला र कम्मरको हड्डीको समस्या अर्कोतर्फ आफ्नो मधुमेह नियन्त्रण बाहिर गएर इन्सुलिन लिनुपर्ने अवस्था त्यसमाथि पनि दुई छोराछोरीको जिम्मेवारी, समस्यै समस्याले थलिएको पीडा पोख्नुहुन्छ उहाँ । आँखाभरि आँशु पार्दै भट्टराई भन्नुहुन्छ, “छोराछोरीको कलिलो अनुहारले आशा जगाएको छ । आत्मबल बढाएर हिँडिरहेकी छु तर पनि यसरी पाल्पालीको जीवन कहिलेसम्म टिकाउने ? आफ्नो जीवन नै कहिले ढल्ने हो कि भन्ने चिन्ताले सधैँ मन कटकटी खाने गर्छ ।”

पाल्पालीलाई अहिले सातामा तीन दिन डाइलोसिस गर्नुपर्छ । चिकित्सकको सल्लाहअनुसार सिएपीडी विधिअनुसार उहाँको जस्ताको टहरामै डाइलासिस हुँदै आएको छ तर लकडाउनको कारण सिएपीडी डाइलासिस गर्ने औषधि अभाव भएकाले समस्या थपिएको भट्टराई बताउनुहुन्छ । उहाँका अनुसार पाल्पालीको उपचार तथा पोषण र घर व्यवहार धान्न मासिक रु २२ हजार खर्च हुँदै आएको बताउँदै उहाँले ऋणमाथि ऋण थपिँदै जाँदा ऋण र रोगले नै परिवार नै सङ्कटमा परेको बताउनुहुन्छ ।
 
उहाँले यसअघि पनि सहयोग गरेको सम्झँदै भन्नुभयो, “म सबै पत्रकारदेखि दातासम्मलाई आग्रह गर्दछु, पत्रकार पाल्पाली जीवनमरणको दोसाँधमा छन् । छोराछोरी भोकै बस्नुपर्ने अवस्था आएको छ । पत्रकार पाल्पाली र उनका घरपरिवारको जीवनरक्षाका लागि सहयोग गरिदिनुस् ।” पत्रकार तथा साहित्यकार पनि देशका गहना हुन् उनीहरुको समस्याका लागि पनि सरकारको दायित्व हुन्छ भन्ने बुझेर सरकारले उनीहरुका उपचारको व्यवस्था गरिदिनुपर्ने पत्रकारहरु बताउँछन् । (रासस)