प्रतिनिधिसभा बैठकको ‘ग्याप’मा केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी

सफल खबर संवाददाता

मंगलबार, ३० बैशाख २०८२, १६ : ०६
प्रतिनिधिसभा बैठकको ‘ग्याप’मा केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले निरन्तर संघीय संसद्को बैठक बस्ने भएपछि आह्वान गरेर पनि स्थगित गरेको केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेको छ । प्रतिनिधिसभाले मंगलबार सार्वजनिक गरेको पाक्षिक क्यालेन्डरमा बैठक जेठ ६ गते बसेपछि एकै पटक जेठ १३ गते बस्ने उल्लेख भएपछि त्यसबिचमा बैठक बोलाउने तयारी कांग्रेसले गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले अन्य कुनै कारणले नभई संसद् बैठक नियमित बोलाइएकाले केन्द्रीय समिति बैठक स्थगित गरिएको र प्रतिनिधिसभा बैठक बस्ने समय ग्याप हुने बित्तिकै बोलाइने जानकारी दिए । ‘हामीले आह्वान गरेको केन्द्रीय समिति बैठक स्थगित गर्नुको मुख्य कारण संघीय संसद्का बैठक निरन्तर आह्वान गरिएकाले हो । सदनका बैठक सञ्चालनमा ग्याप भएपछि हामीले सल्लाह गरेर बैठक बोलाइहाल्छौँ,’ मुख्यसचिव पौडेलले भने, ‘प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डरमा ग्याप देखिएको छ । त्यसबारे सभापतिसहितका शीर्ष नेतासँग भोलि छलफल गरेर बैठक बोलाउनेबारे कुराकानी हुन्छ ।’

कांग्रेस केन्द्रीय कार्यालयले वैशाख २ गते विज्ञप्ति जारी गर्दै वैशाख १७ गते बुधबार दिउँसो एक बजे बैठक बस्ने जानकारी दिएको थियो । त्यसबिचमा बसेको पार्टी कार्यसम्पादन समिति बैठकमा प्रमुख सचेतक श्यामकुमार घिमिरेले वैशाख १२ गतेदेखि संघीय संसद् अधिवेशन सुरु हुने भएकोले सांसदहरू संसद्मै व्यस्त हुनुपर्ने भन्दै केन्द्रीय समिति बैठक स्थगित गर्न सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभापति देउवाको निर्देशनमा केन्द्रीय कार्यालयले वैशाख १० गते विज्ञप्ति निकालेर अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएको थियो ।

केन्द्रीय समितिको बैठक नबस्दा कांग्रेसले म्याद गुज्रेका भ्रातृ संस्थाबारे निर्णय लिन सकेको छैन । कांग्रेसले १० भ्रातृ संस्थालाई चैत मसान्तसम्म महाधिवेशन गर्न निर्देशन दिँदै नसकेमा भङ्ग गर्ने चेतावनी दिएको थियो । गत फागुन एक गने बसेको कार्यसम्पादन समितिले चैत मसान्तसम्मका लागि अन्तिम म्याद दिँदै नसकेमा भङ्ग गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले त्यस्तो चेतावनी दिने भ्रातृसंस्थामा तरुण दल, महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल थारु संघ र नेपाल प्रजातन्त्र सेनानी संघ थिए ।

ती मध्य पार्टीको निर्देशन बमोजिम नेपाल प्रजातन्त्र सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल भूतपूर्व सैनिक संघले मात्रै महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरे । त्यसमा पनि अपाङ्ग संघको महाधिवेशन विवादित भएर समानान्तर समिति बनेको छ ।

पार्टीले निर्णय गरेरै दिएको निर्देशन पालना नगर्ने ७ भ्रातृ संस्थाका तदर्थ समितिलाई के गर्ने भन्नेबारे पनि केन्द्रीय समिति बैठक नबस्दा निर्णय लिन सकेको छैन । अहिले ती भ्रातृ संस्थाका केन्द्रीय समितिको न पार्टीले दिएको म्याद बाँकी छ न पार्टीले भङ्ग नै गरेको छ । 

गत साउनदेखि केन्द्रीय समिति बैठक बस्न नसकेकाले त्यसबिचमा कार्यसम्पादन समिति बैठकले गरेका निर्णय अनुमोदन पनि भएका छैनन् ।

गत शुक्रबार बसेको पदाधिकारी बैठकमा पनि केन्द्रीय समिति बैठक बोलाउनेबारे छलफल भएको थियो । सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले संसद् बैठक बोलाउने दिनमा ग्याप भएमा केन्द्रीय समिति बैठक बोलाउने सभापति देउवाले पदाधिकारी बैठकमा बताएको जानकारी दिइन् ।

प्रतिनिधिसभा बैठकमा ५ दिन ग्याप राखिएकाले त्यो बेलामा सकभर केन्द्रीय समिति नभए कार्यसम्पादन समिति बैठक बस्ने तयारी गर्न सभापति देउवाले अनौपचारिक रूपमा केन्द्रीय कार्यालयलाई निर्देशन दिएको स्रोतले जानकारी दियो ।  

प्रतिक्रिया दिनुहोस